अमेरिका पठाइदिने भन्दै ६४ लाख ठगी गरेको आरोपमा युवक पक्राउ

| २०८० मंसिर २१ गते २१: ३२ मा प्रकाशित

काठमाडौं । अमेरिका पठाइदिने भन्दै ६४ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–१ का २८ वर्षीय रमेश न्यौपाने छन् । उनी काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए ।

उनलाई बिहीबार दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

न्यौपानेले गणेश अधिकारीसहित पाँचजनालाई वैदेशिक रोजगारीका निम्ति अमेरिका पठाइदिने बताएका थिए । त्यसका निम्ति प्रतिव्यक्ति ४५ लाख रुपैयाँ लाग्ने उनको भनाइ थियो । अमेरिका पुगेपछि प्रतिष्ठित होटेलमा काम लगाइदिने र मासिक तीन लाख रुपैयाँ तलब हुने भन्दै उनले प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

‘पीडित’बाट पटक–पटक गरी न्यौपानेले ६४ लाख ४५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भई ठगी गरेको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका निम्ति वैदेशिक रोजगार विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्