दलितसँग बिहे गरेको भन्दै श्राद्धमा आएनन् पुरेत

| २०८० माघ १३ गते ०४: ०६ मा प्रकाशित

काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकामा दलितसँग बिहे गरेको भन्दै पुरेत नआएपछि पितृ कार्य (श्राद्ध) रोकिएको छ । भुम्लु–२, सिमथलीका धर्मध्वज भण्डारीले दलित महिलासँग विवाह गरेकै कारण उनको घरमा गर्नुपर्ने पितृ कार्यका लागि पुरेत नआएको परिवारको आरोप छ ।

भण्डारीले लगाउँदै आएका पुरेत माधवराज न्यौपानेले घर चोख्याएर मात्र श्राद्ध गर्नुपर्ने भन्दै तिथिको दिन श्राद्ध नगरिदिएको भण्डारी परिवार बताउँछ । दलित महिला विवाह गरेर भण्डारीको घर अछुतो भएकाले सो घरमा पस्न र खान नहुने भन्दै पुरेत न्यौपानेले श्राद्ध गर्न नमानेको पीडित परिवारको भनाइ छ ।

बिहीबार पुस शुक्ल पूर्णिमा तिथिका दिन भण्डारीका बुबा राम बहादुरको तिथि परेको थियो । भण्डारीले पुरेतलाई अघिल्लो दिन नै खबर गरेका थिए भने श्राद्धको सम्पूर्ण तयारी भइसकेको थियो ।

तर, श्राद्ध गर्न उनका पुरेत माधवराज न्यौपाने आएनन् । श्राद्धका लागि अघिल्लो दिन एक छाक खाएर बसेका भण्डारी र भण्डारीकी आमा गंगादेवी श्राद्ध गर्न बिहीबार राति ९ बजेसम्म पुरेत कुरेर बसे । तर, पुरेत नआएपछि उनीहरु खाना खाएर सुतेका थिए । 

पुर्यौली पुरेतका रुपमा न्यौपानेले विगतदेखि नै भण्डारीको घरमा विभिन्न कार्य गर्दै आएका थिए । भण्डारीका अनुसार विगतमा न्यौपानेका पिता बालकृष्ण न्यौपानेले सो घरमा पुरेत्याइँको काम गर्दै आएका थिए । बालकृष्ण न्यौपाने अशक्त भएपछि भने सो काम उनका छोरा माधवराजले सम्हाल्दै आएका थिए । उनले नभ्याएको अवस्थामा आफ्नो नातामा पर्ने अर्का पुरेतलाई कार्य गर्न पठाउने गर्थे । तर बिहीबार गाउँमै रहँदा पनि उनी न श्राद्ध गर्न भण्डारीको घरमा पुगे, न भ्याउँदिन भने, न त सट्टामा अर्को पुरेत नै पठाए ।

२०७७ मा भण्डारीको बुबाको निधन भयो । उनको निधन पछिका सम्पूर्ण जजमानी काम न्यौपानेले नै गरेका थिए । २०७८ मा भण्डारीको बुबाको वार्षिक कार्य, २०७९ मा भण्डारीको बुबाको पहिलो तिथिमा श्राद्ध पनि उनले नै गरेका थिए ।

भण्डारी पेसाले ड्राइभर हुन् । उनी काठमाडौँमा बसेर गाडी चलाउँदै आएका छन् । कार्य व्यस्तताका कारण उनी अघिल्लो वर्ष बुबाको श्राद्धमा सहभागी हुन सकेनन् ।

यस पटक भने ड्राइभिङ पेसा छोडेर गाउँमै कृषि कार्य गर्दै आएका भण्डारीले बुबाको श्राद्ध गर्ने तयारी गरेका थिए । तर, २०७९ असार २२ मा भण्डारीले भुम्लु–२ की देवकी विश्वकर्मासँग प्रेम विवाह गरेका थिए । पारिवारिक सहमतिमै उनीहरुको बिहे भएको थियो । २ परिवारले सहजै स्वीकारेको उक्त विवाह समाजले भने सहज रुपमा लिन सकेन ।

स्नातक तह उत्तीर्ण गरेकी विक पेसाले शिक्षिका हुन् । उनी स्थानीय बाल उन्नति आधारभूत विद्यालयको प्रध्यानाध्यापक हुन् । २०६३ सालदेखि उनी सो विद्यालयमा सेवारत छिन् ।

२०७६ मा शिक्षक सेवा आयोगबाट स्थायी नियुक्ति लिएर अध्यापन गराउँदै आएकी उनले नेपाली विषय पढाउँछिन् ।

श्रीमतीको विद्यालय र आफ्नो कृषि पेसा व्यवसायका कारण भण्डारी गत एक वर्षदेखि अलग्गै बस्दै आएका थिए । उनीहरु घरबाट करिब २ घण्टाको दूरीमा रहेको विद्यालय नजिकै जग्गा भाडामा लिएर बाख्रा फर्म सञ्चालन गर्दै आएको स्थानमा बस्दै आएका छन् ।

घरमा भने भण्डारीकी आमामात्र बस्छिन् । भण्डारीका भाइ सुरेन्द्र बनेपा, बुडोलमा बस्दै आएका छन् । आमा भेट्न र आवश्यकता अनुसार फार्मबाट बेलाबखत घर गएर बस्ने गरेका थिए भण्डारी दम्पती ।

‘अघिल्लो वर्ष कान्छोले श्राद्ध ग¥यो, केही भएन । अहिले घरमै श्राद्ध गर्न जेठो छोरोले तयारी गरेको थियो तर पुरेत आएनन् । छोरोले दलित बिहे गरेर हामी अछुतो भयौँ रे,’ भण्डारीकी आमा गंगादेवीले भनिन् ।

पुरेतले त्यो घरमा श्राद्ध गर्न मिल्दैन, आफन्तको वा कान्छाको घरमा गर्ने भए आउँछु भनेर शर्त राखेको आफूले ढिलोगरी थापा पाएको उनले सुनाइन् । ‘हामीले राति ९ बजेसम्म कु¥यौँ तर पुरेत नआएपछि खाना खायौँ,’ उनले भनिन् ।

भण्डारीकी श्रीमती विकका अनुसार पुरेत न्यौपाने बुधबारदेखि नै भण्डारीको गाउँमा आयोजित धार्मिक कार्यक्रममा सहभागी थिए । बाहुन क्षेत्री, पहरी र तामाङ बस्ती रहेको भुम्लुको उक्त वडामा आफ्नो विवाहपछि समाजले गर्ने व्यवहारमा समेत परिवर्तन आएको उनले बताइन् । 

तर पुरेत न्यौपाने दलित महिलासँग विवाह गरेकै कारण श्राद्ध गर्न नगएको भन्ने कुरा सत्य नभएको दाबी गर्छन् । यस्ता कुरा निकालेर आफूमाथि आरोप मात्र लगाइएको उनको भनाइ छ ।

आफू बिरामी भएको र काठमाडौँमा बस्दै आएकाले गाउँतिर भनेको समयमा जान सक्ने अवस्था नरहेको उनले बताए । यही कारण आफूले धेरै जजमानी छाडिसकेको उनको भनाइ छ ।

‘म काठमाडौँ बस्छु । सञ्चो पनि छैन । कसरी गाउँ जानु र ? त्यो आरोपमात्र हो,’ उनले भने, ‘उहाँलाई म भ्याउँदिनँ भनेको थिएँ । १÷२ वर्षदेखि नै उहाँहरुले अरु नै खोजेर लगाइरहनु भएको थियो । उहाँको बुबाको वार्षिकी मैले गरिदिएको हो, त्यसपछि मैलै केही गरिदिएको छैन ।’

आफन्तको विवाह परेर आफू अमेरिका जान लागेको उनले सुनाए । ‘मैले जजमानी कार्य गर्दै आएको ५०० घर सबै छोड्दै आइसकेको छु,’ उनले भने ।source - ratopati

प्रतिक्रिया दिनुहोस्