रक्सी र चुरोट चोर्दै हिँड्ने युवक पक्राउ

| २०८० माघ २९ गते १२: ५६ मा प्रकाशित

पर्वत। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न ६ स्थानबाट साढे दुई लाख भन्दा बढीका सामग्रीहरू चारी गरेका एक जना पेशेवर चोरलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवण कुमार बि.क.का अनुसार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखराको लेकसाइड स्थित विभिन्न ६ वटा पसलहरूमा फरक फरक मितिमा चोरी गरेका युवकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पोखरा महानगपालिका–१४ मा बस्दै आएका २१ वर्षीय दीपेश परियार रहेका छन्। उनलाई गत माघ १९ गते पक्राउ गरिएको हो।

चोरीपछि विभिन्न हुलियाको आधारमा उनको खोजी भइरहेकोमा घटनाको अनुसन्धानका लागी खटिएको प्रहरी टोलीले परियारलाई आफ्नै घरको कोठामा लुकीछिपी बसिरहेको अवस्थामा चोरी गरेका सामग्रीहरूसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार परियारले माघ १३ गते पोखरा महानगरपालिका–५ जिरो किलोमिटरमा प्रतीक गुरुङले सञ्चालन गरेको कपी बक्स क्याफेबाट नगद १५ हजार रुपैयाँ, १२ हजार एक सय रुपैयाँ बराबरको चुरोट, २० हजार रुपैयाँ बराबरको एक थान ट्याब्लेट, ४२ हजार रुपैयाँ बराबरका १२ थान जिप्पो लाइटर गरी कुल ८९ हजार एक सय रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए।

माघ एक गते पोखरा महानगरपालिका–६ लेकसाइडमा सुरेश भण्डारीले सञ्चालन गरेको सोल ओरिजिन क्याफेबाट नगद १० हजारसहित वाइन, चुरोट, दुई थान ट्याब्लेट गरी कुल ८७ हजार पाँच सय २५ रुपैयाँ बराबरको चोरी पनि उनैले गरेका थिए।

यस्तै माघ १३ गते पोखरा महानगरपालिका–६ सेन्टर प्वाइन्टमा रहेको रेष्ट्रो लज बारबाट  नगद ३५ हजार सहित चुरोट गरी ३५ हजार नौ सय ६० रुपैयाँ बराबरको धनमाल चोरी गरेको पनि प्रहरीले बताएको छ।  

परियारले माघ १६ गते पोखरा महानगरपालिका–६ लेकसाइडमा विनोद मल्लले सञ्चालन गरेको एलिज क्याफेबाट नगद दुई हजार रुपैयाँ सहित करिब १० हजार मूल्य पर्ने एक थान गितार र चुरोट गरी १२ हजार छ सय ६० रुपैयाँ बराबरको चोरी गरेको पाइएको छ। सोही दिन नै लेकसाइडमा केशव नेपालीले सञ्चालन गरेको स्वप्निल दरबार खाजा घरबाट नगद दुई हजार सहित करिब सात हजार रुपैयाँ पर्ने रेड लेबल र करिब नौ हजार रुपैयाँ पर्ने ब्ल्याक लेबल रक्सी, करिब दुई हजार पाँच सय रुपैयाँ पर्ने सिग्नेचर रक्सी, चार हजार पाँच सय रुपैयाँ पर्ने ओल्ड दरबार रक्सी लगायत गरी कुल २७ हजार दुई ८० रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले बताएको छ।

माघ १६ गते नै लेकसाइडमा रहेको टोनिक लज एन्ड बारबाट नगद १३ हजार रुपैयाँ सहित चुरोटलगायत गरी कुल १९ हजार एक सय ६० रुपैयाँ बराबरको धनमाल चोरी गरेको पाइएको छ। परियारले छ वटै स्थानमा चोरी गरेको बयानको क्रममा स्वीकार गरेको प्रहरी नायव उपरीक्षक बि.क.ले बताए।
पक्राउ परेका परियारलाई डाँका सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको पनि कास्की प्रहरीले बताएको छ।thahakhabar

प्रतिक्रिया दिनुहोस्