परालको गुन्द्री बुन्ने चलन हराउदै ,गाउँघरमा देखिन छाडे परालका गुन्द्री

| २०८० फागुन ३ गते २२: ४६ मा प्रकाशित

केशब पन्थी ,सन्धिखर्क। कुनै समय  परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय  परालको गुन्द्री खासै देखिदैन गाउँ घरमा पनि  ।  धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि फाट्टफुट्ट देख्न पाइन्छ ।

 परालको गुन्द्री बिस्तारामा ओछ्याउन, बस्न, अन्न सुकाउन बढी मात्रामा प्रयोग हुने गरेको भए पनि यस्ता गुन्द्री प्रयोग भने हिजोआज घट्दै गएको छ । गाउँमा कहीँकतै गुन्द्री बुनेको देख्दा  नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ ।

 बाबियो वा जुटको डोरीको तानमा पराल मिलाएर राखेपछि एक–दुई दिनमै तयार हुने गुन्द्री अहिले कमै मात्रामा पाइन्छ । गाउँ–गाउँमा सिमेन्टेड पक्की घर निर्माणको चलनसँगै घरेलु हस्तकलाका सामग्री बुनेर प्रयोग गर्ने चलन पनि फेरिएको छ । परालको  गुन्द्रीको विकल्पमा बजारमा पाइने प्लास्टिकका गुन्द्री अहिले गाउँघरमा भित्रिएका छन् ।

बजारमा पाइने प्लाष्टिकबाट बनेका गुन्द्रीको प्रयोगले  नया पुस्ताले गुन्द्री बुन्न पनि जागर गरेको देखिदैन ।

आधुनिकता र बजारीकरणको प्रभावले घरको आँगनमै ताना हालेर गुन्द्री बुन्ने परम्परालाई जोगाउन नयाँ पुस्तालाई सीप हस्तान्तरण र पुराना परम्पराको महत्व सिकाउन सके यसको महत्व बढने छ नत्रा  न्यानो अनि बर्षौ टिक्ने परालको गुन्द्री बिस्थापित हुने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्