के माओवादी पहिलो पार्टी बन्ने सम्भावना बाँकी छ ?

| २०८० फागुन ७ गते १७: ३८ मा प्रकाशित

हालै सम्पन्न पार्टी विधान महाधिवेशनपछि माओवादी केन्द्रका नेता/कार्यकर्ताले दाबी गर्न थालेका छन् कि आगामी निर्वाचनमा पार्टी देशकै पहिलो बन्ने आधार तयार भयो । तर, ती आधारहरू के-के हुन् र कसरी बने ? यसबारे भने अन्योलता कायमै छ ।

के माओवादी पहिलो पार्टी बन्ने सम्भावना बाँकी छ ?

काठमाडौं । हालै सम्पन्न पार्टी विधान महाधिवेशनपछि नेकपा (माओवादी केन्द्र) का नेता/कार्यकर्ताले दाबी गर्न थालेका छन् कि आगामी निर्वाचनमा पार्टी देशकै पहिलो बन्ने आधार तयार भयो ।

तर, ती आधारहरू के-के हुन् र कसरी बने ? यसबारे भने अन्योलता कायमै छ । नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मिसन-८४ भन्दा माओवादी केन्द्रको यो दाबी किन र कसरी फरक छ ? कि उस्तै-उस्तै हो ?

गत निर्वाचनमा ११.३ प्रतिशत भोट र जम्मा ३२ सिट पाएको तेस्रो पार्टी ४ वर्षभित्र आश्चर्यजनक उन्नति गर्दै पहिलो ठूलो बन्ला त ? त्यो पनि निरन्तर घट्दो क्रममा रहेको पार्टी !

सबैलाई थाहा छ, विगत ३ चुनावयता माओवादी केन्द्र निरन्तर घट्दोक्रममा छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीले २९.२८ प्रतिशत मत प्राप्त गरेको थियो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा १५.२१ प्रतिशतमा झर्‍यो ।

नयाँ संविधान निर्माणपछि २०७४ को पहिलो संसदीय निर्वाचनमा १३.६६ प्रतिशत मत मात्र प्राप्त गर्न सक्यो । यो क्रम जारी रहेमा माओवादी केन्द्रको लोकप्रिय मत अगामी निर्वाचनमा २-५ प्रतिशतले घटेर १० प्रतिशतभन्दा कम हुन सक्दछ । यसको सिधा अर्थ हो, सामान्य र नियमित प्रक्रियाबाट माओवादी पहिलो ठूलो पार्टी हुने सम्भावना छैन ।

असाधारण परिणामका लागि असाधारण प्रयत्न र पहलकदमी नै चाहिन्छ । जस्तो कि २०४८ सालको आम निर्वाचनमा माओवादीको चुनावी सङ्गठन संयुक्त जनमोर्चा, नेपालले ५.०५ प्रतिशत मत र ९ सिट हासिल गरेको थियो ।

नियमित संसदीय प्रक्रियाबाट २०६४ सालमा माओवादी पहिलो ठूलो पार्टी हुन सम्भव थिएन । जनयुद्ध, जनान्दोलन २०६२-०६३ बीचका असाधारण प्रयत्न र पहलकदमी थिए, जसले २०४८ सालमा ५औं स्थानमा रहेको पार्टीलाई २०६४ मा पहिलो स्थानमा ल्यायो ।

के माओवादीले त्यस्तै कुनै नयाँ र असाधारण पहलकदमी लिँदैछ, जसले उसलाई आगामी निर्वाचनमा पहिलो ठूलो पार्टी बनाउला ? माओवादी अहिले सरकारको नेतृत्व गरिरहेको छ । यसबीच पार्टीले कुनै ठूलो जनान्दोलन वा जनविद्रोहको नेतृत्व गर्न सक्दैन । आगामी चुनावअघि नै सरकारको नेतृत्व पनि नेपाली कांग्रेसलाई हस्तान्तरण गर्नुपर्ने आलोपालो शर्त छ । सरकारको नेतृत्वको लाभार्थीसमेत माओवादी हुन पाउने छैन ।

त्यसोभए कसरी पहिलो ठूलो पार्टी बन्छ ? दोस्रो ठूलो पार्टी भए त्यस्तो दाबी स्वाभाविक हुन सक्दथ्यो । संसदीय लोकतन्त्रमा नियमित र साधारण प्रक्रियाबाट दोस्रो पार्टी पहिलो बन्ने सम्भावना हुन्छ । संसदीय निर्वाचनको मत ध्रुवीकरण प्रक्रियाले त्यस्तो अवसर दिन्छ । तर, सानो तेस्रो आकारको पार्टीलाई त्यस्तो ध्रुवीकरणको लाभ उपलब्ध हुँदैन । गत आम निर्वाचनमा माओवादीलेले प्राप्त गरेको भोट र सिट दुवै एमाले र नेपाली कांग्रेसभन्दा आधा कम छ । साधारण र नियमित प्रक्रियाबाट हेर्दा कांग्रेस-एमालेले नै पहिलो र दोस्रो स्थान ओगट्न सक्नेछन् ।

माओवादी, रास्वपा, नागरिक उन्मुक्ति र जनमत पार्टीजस्तो नयाँ र उदीयमान पार्टी पनि हैन । नयाँ र उदीयमान पार्टीले यस्तो दाबी गर्ने अधिकार यसर्थ राख्दछन् कि चुनावमा भाग लिएको पहिलोपटक नै तिनले यतिको प्रगति गरे भने अर्को चुनावसम्म थप प्रगति र विस्तार किन नगर्लान् ?

राजनीतिक दलले आफ्नो पार्टी पक्ङ्ति, कार्यकर्ता, सदस्य र समर्थकलाई उत्साहित गर्न राजनीतिक औपचारिकता र आन्तरिक खपतका लागि यस्तो दाबी गर्न सक्दछ । संसारको कुनै पनि राजनीतिक दलले आगामी निर्वाचनमा हामी हार्दैछौँ भन्दैन । यस अर्थमा माओवादीको दाबी अस्वाभाविक हैन ।

तर, माओवादीले यदि साँच्चै त्यस्तो दाबी पेश गरेको हो भने त्यसका केही न केही आधार हुन आवश्यक हुन्छ । जस्तो कि कांग्रेस र एमालेले अझै पनि आगामी निर्वाचनमा सबैभन्दा पहिलो र ठूलो दल हुने दाबी गर्न सक्दछन् । यसर्थ कि ती अहिले नै ठूला दल हुन् । जनमतका आधारमा एमाले र संसद्‌को सिट सङ्ख्याको आधारमा कांग्रेस सबैभन्दा ठूलो दल हो ।

रास्वपा, नागरिक उन्मुक्ति तथा जनमत पार्टीजस्ता नयाँ दलले पनि यस्तो दाबी गर्न सक्दछन् । किनकि ती उदीयमान छन् । तिनको राजनीतिक भविष्य परीक्षण भइसकेको छैन । त्यसोभए माओवादीको पहिलो पार्टी हुने दाबीको आधार के हो ?

माओवादी मात्र हैन, कुनै पनि राजनीतिक दलले आगामी निर्वाचनमा चमत्कारिक परिणाम हासिल गर्न गौरबमय इतिहास, प्रष्ट र आकर्षक विचार, स्वच्छ छवि भएको नेतृत्व, बलियो सङ्गठन, आकर्षक मुद्दा, चुस्त व्यवस्थापन क्षमता र जनमुखी कदम चालिरहेको लोकप्रिय सरकारमध्ये अधिकांश वा केही न केही आधार हुन आवश्यक हुन्छ ।

जनयुद्धका सहभागीको सहानुभूति र गणतन्त्र स्थापनामा गरेको योगदानबाहेक माओवादीसँग एमाले र कांग्रेसको भन्दा गतिलो र गौरबयोग्य इतिहास वा विरासत छैन । सत्य निरुपण तथा मेलमिलापका काम ढिलो हुँदा, बेपत्ता आफन्तको खोजी र टुङ्गो नहुँदा, घाइते योद्धा र शहीद परिवारले यथोचित क्षतिपूर्ति प्राप्त गर्न नसक्दा जनयुद्धकै समर्थक र सहभागीसमेत माओवादीसँग रिसाएका छन् । माओवादीको इतिहास र विरासतबाट थप मत प्राप्त हुने अपेक्षा गर्न सकिन्न ।

वैचारिक हिसाबले माओवाद आफैँमा एक सन्दिग्ध विचार हो, जसको विरासत एकदलीय कम्युनिष्ट प्रणालीसँग जोडिएको हुन्छ । माओवादको विचारमा लोकतन्त्रप्रतिको वैचारिक प्रतिबद्धता कमजोर हुन्छ । माओवाद साम्यवादको त्यस्तो अतिवादी वैचारिक संस्करण हो, जसमा नेपाली जनताको खासै रुचि र आकर्षण छैन । आन्तरिक लोकतन्त्रका दृष्टिकोणले पनि माओवादी अन्य पार्टीभन्दा फरक र आकर्षक लाग्दैन ।

माओवाद माओवादीकै लागि घाँडोजस्तो भएको छ । पार्टीको विचार नाममा माओवाद रहुन्जेलसम्म नयाँ पुस्ता, शहरिया मध्यम वर्ग, उद्यमशील तथा लगानीकर्ता समूह, लोकतान्त्रिक जनमत त्यस पार्टीप्रति आकर्षित हुँदैन । अर्कोतिर माओवाद परित्याग गर्दा यसका आधारमा बनेको सीमित जनमत पनि गुम्ने जोखिम हुन्छ ।

माओवाद लाई एकक्षण बेवास्ता गर्ने हो भने कम्युनिष्ट जनमत पनि सबै माओवादीले पाउने सम्भावना छैन । देशमा यतिधेरै कम्युनिष्ट समूह छन् कि ती सबैको रोजाइमा माओवादी छैन । एमाले, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चाजस्ता कम्युनिष्ट समूहप्रति रुझान राख्ने मत माओवादीतिर आकर्षित हुने नयाँ र प्रभावकारी कारण सतहमा आएको छैन ।

इतिहासको विरासत र विचारको आकर्षणले माओवादी पहिलो ठूलो पार्टी हुने सम्भावना छैन । मुद्दाबाट हेर्दा पहिचानमा आधारित सङ्घीयता हिजो माओवादी पार्टी शक्तिको एक महत्त्वपूर्ण आधार थियो । आज मधेसी र जनजाति मत माओवादीतिर आकर्षित हुन त्यति सहज छैन । किनकि ती ‘स्पेश’मा जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत र नागरिक उन्मुक्तिजस्ता पार्टी छन्।

जनजाति समुदाय पहिचानको मुद्दामा माओवादीले धोका दिएको अनुभूति पालेर बसेको छ । जनयुद्ध र पहिलो संविधान सभाको अवधिमा यो समुदायले माओवादीलाई खुलेर साथ दिएको थियो । हुन त विधान अधिवेशनमार्फत माओवादीले पहिचानको मुद्दा फेरि उठाउने कुरा गरेको छ । तर, यो पहिलो पार्टी हुनुका लागि पर्याप्त आधार हैन ।

सङ्गठनको मानकबाट हेर्ने हो भने पनि माओवादी एमाले र नेपाली कांग्रेसभन्दा कमजोर छ । जनयुद्ध सघन भएका रुकुम, रोल्पा, जाजरकोट, गोर्खा, सिन्धुली, सिन्धुपाल्चोकजस्ता केही जिल्लालाई छोडेर अन्य अधिकांश जिल्लामा माओवादीभन्दा अन्य दल नै बलिया देखिँदै आएका छन् ।

शक्ति हासिल गर्ने अर्को तरिका एकता हो । यसबीच माओवादीसँग पार्टी एकता गर्न राजी हुने र उल्लेखनीय जनमत थपिने त्यस्तो कुनै दल छैन । एकीकृत समाजवादीले माओवादीसँग एकता गर्दैन भन्ने प्रष्ट भइसक्यो । यस दलका नेताकार्यकर्ता पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको बहिर्गमनपछि एमालेमा फर्किन मनोदशामा बाँचेका छन् ।

समाजवादी मोर्चामा रहेको जनता समाजवादी कम्युनिष्ट विचार परित्याग गरिसकेको दल हो । उपेन्द्र यादवले माओवादीसँग पार्टी एकता गर्ने छैनन् । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीसमेत माओवादीसँग एकमुष्ट एकता गर्ने सम्भावनाबाट पछाडि हटेको जस्तो देखिन्छ । मोहन वैद्यलगायतका समूहले माओवादीसँग एकता गर्दैनन् । गरे त्यही एउटा विप्लव समूह हो । तसर्थ, एकताको बाटोबाट समेत माओवादी पार्टीको विस्तार र शक्ति आर्जन हुने सम्भावना छैन ।

आगामी चुनावसम्म माओवादीको नेतृत्व परिवर्तन नहुने प्रष्ट भइसकेको छ । माओवादीको नेतृत्व प्रचण्डसँगै रहने निर्विवाद यथार्थ हो । प्रचण्ड अब देश, जनता र मतदाताका लागि कुनै नयाँ र लोकप्रिय नेता बाँकी रहेनन् । जनयुद्ध, बृहत् शान्ति सम्झौता र पहिलो संविधानसभा निर्वाचनताका प्रचण्डको व्यक्तित्व र करिस्माप्रति मान्छेमा जुन आकर्षण र रहस्यबोधको भावना थियो, त्यो अब छैन ।

पार्टीलाई प्रचण्डको नेतृत्व माओवादको विचारजस्तै भएको छ । न छोड्दा धर, न समात्दा सुख । प्रचण्ड आफैँ पुरानिएका नयाँ पुस्ताका मतदाताका लागि आकर्षणहीन हुँदै गएका छन् । तर, उनले नेतृत्व छोड्ने नै हो भने अर्को त्यत्तिको व्यक्तित्व पनि छैन ।

नारायणकाजी श्रेष्ठ, गिरिराजमणी वा लीलामणी पोखरेल माओवादी पार्टीको नेतृत्वका लागि स्वाभाविक उत्तराधिकार हैनन्, किनकि जनयुद्ध लडेका नेता हैनन् । कृष्णबहादुर महरा अनेक प्रकारको नैतिक सङ्कटमा छन् । उनको स्वास्थ्य पनि राम्रो छैन ।

जनार्दन शर्मा ‘प्रभाकर’, वर्षमान पुन ‘अनन्त’ र शक्ति बस्नेत माओवादीको नेतृत्वका लागि उत्तराधिकारको दाबी गर्नसक्ने व्यक्तित्व हुन् । तर, यिनले नेतृत्व लिँदैमा माओवादीको चमत्कारिक पुनरुत्थान हुने सम्भावना छैन । तसर्थ, नेतृत्व र उत्तराधिकारका दृष्टिले पनि माओवादी बलियो छैन ।

अझ महत्त्वपूर्ण कुरा पहिलो ठूलो हुने महत्वाकांक्षा राख्ने दलसँग कि त एक्लै चुनाव लड्ने आँट, कि त गठबन्धनको नेतृत्व गर्ने अवसर हुनुपर्दछ । माओवादीसँग आगामी चुनावमा यी दुवै चिज हुने छैनन् । यो प्रष्ट छ कि माओवादीले एक्लै चुनाव लड्ने आँट गर्दैन ।

कांग्रेस वा एमालेमध्ये कुनै एक गठबन्धनमा सामेल हुन्छ । त्यस्ता गठबन्धनका नेता स्वयम् तिनै पार्टीबाट हुनेछन् । माओवादीलाई आगामी निर्वाचनमा कुनै पनि गठबन्धनले ३० प्रतिशतभन्दा बढी सिट दिने सम्भावना रहँदैन । अनि माओवादी पहिलो र ठूलो हुन्छ कसरी ?

अँ हो, माओवादी पहिलो र ठूलो पार्टी हुन नसके पनि फेरि एमालेलगायतका समूहसँग एकता गरेर नेकपालाई ब्युँताउन र त्यसलाई सबैभन्दा ठूलो पार्टी बनाउन सक्दछ । यो विकल्प पनि २०७४ को चुनावमै प्रयोग भएर असफल भएको हो । १० वर्षपछि २०८४ मा फेरि त्यही असफल विकल्पको परिक्षण गर्ने हो ?

तसर्थ, माओवादी आगामी चुनावमा एक्लै सबैभन्दा ठूलो र पहिलो पार्टी हुने दाबी ‘मनको लड्डु घ्यूसँग खाए’जस्तो मात्रै हो । यदि उसले त्यस्तो चाहना र आकांक्षा राख्दछ भने साधारण र नियमित प्रक्रियाबाट सम्भव हुँदैन, त्यसका लागि असाधारण प्रयत्न र पहलदकमी आवश्यक पर्दछ ।स्रोत - नेपाल भिउज

प्रतिक्रिया दिनुहोस्