संसद अवरोध जारी राख्ने कांग्रेसको निर्णय

| २०८१ जेठ ३ गते १६: १२ मा प्रकाशित

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने बताएको छ ।सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार नभएको भन्दै कांग्रेसले अवरोध जारी राख्ने बताएको हो।

बिहीबार बसेको कांग्रेस शीर्ष नेताको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले सहकारी ठगीको मूल समस्या छाडेर घटनालाई अन्यत्र मोड्ने हिसाबले मात्र समिति गठन गर्न खोजेको आरोप लगाए ।

‘रविजी लगायत सहकारीका सबै विषयलाई समेटेर छानबिन हुनुपर्छ भन्ने माग हो । त्यसका लागि सत्तापक्ष तयार भएको छैन । छानबिनको कुरा गर्दा सहकारीको कहाँ के समस्या छ हेर्ने, त्यस्तो छानबिन गर्ने भन्ने कुरा गरेर मूल विषयलाई डाइल्युट गर्ने कुरा आएकाले सहमति हुन सकेको छैन’, डा. महतले भने ।

मुख्य विषय ओझेलमा पारेर हुने छानबिन आफूहरुलाई स्वीकार्य नहुने उनले बताए । बिहीबार प्रतिनिधिसभाको बैठक अपरान्ह ४ बजे बोलाइएको छ । प्रतिनिधिसभा बैठकअघि बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा कांग्रेसका शीर्ष नेताबीच छलफल भएको थियो ।

छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री जीवन परियार, प्रवक्ता प्रकाशशरण महत, संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलगायत सहभागी थिए ।स्रोत -अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्