कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक खुलाउन समय लाग्ने

| २०८१ जेठ १४ गते ००: ०७ मा प्रकाशित

बागलुङ । सुक्खा पहिरोका कारण आइतबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६, बरलवाको भीरमा गए राति पहिरो खसेको हो ।

पहिरोले बागलुङ–गुल्मी खण्डअन्तर्गत मालढुंगा–अर्बेनी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । गएको फागुन ११ र २६ गते पनि सोही ठाउँमा पहिरो खसेको थियो । सुक्खा पहिरोका कारण करिडोर एक साता बन्द भएको थियो ।

बागलुङको मालढुंगादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका निम्ति स्तरोन्नतिको काम भइरहेको छ । आइतबार राति एक्कासि पहाड खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इन्जिनियर छकबहादुर गुरुङले बताए ।

“पहिरो खसेको ठाउँ निकै कमजोर छ । त्यहाँ पटक–पटक पहिरो खसेर काममा बाधा पारिरहेको छ,” आयोजनाका इन्जिनियर अरुण खत्रीले भने, “पहाड सिँगै खसेकाले योपटक पनि सडक खुल्न समय लाग्छ ।”

पहिरो खुलाउन आयोजना र निर्माण कम्पनीले सोमबार बिहानैदेखि काम थालेका छन् । सडक अवरुद्ध भएकाले करिडोर हुँदै लामो तथा छोटो दूरीका सवारीसाधन आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङ बजार र दक्षिण जैमिनी तथा बरेङ गाउँपालिकाबाट बुटवललगायत ठाउँमा चल्ने सवारीसाधन रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो खस्ने गरेको छ । 

गोरखामा आइतबार (हिजो) खसेको सुक्खा पहिरोको दृश्य । तस्बिर : रासस ।

प्रतिक्रिया दिनुहोस्