मलामी बोकेको ट्याक्टर दुर्घटना: एकको मृत्यु, १८ जना घाइते

| २०८१ जेठ १४ गते २१: ५१ मा प्रकाशित

धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ पाथीभरामा सोमवार अपराह्न करिब ५ बजे मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा छथर जोरपाटी–५ ताम्लिङका ४५ वर्षीय वीरबहादुर खनाल रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

बाँधबिसौनाबाट स्थानीय डेगबहादुर अधिकारीको शव बोकेर दाहसंस्कारका लागि तमोर नदीको त्रिवेणी जानेक्रममा को १ त ९७३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए ।

ट्याक्टर सडकबाट करिब एक सय मिटर तल खसेको जनाइएको छ । तीन वटा ट्याक्टरमा मलामी सवारमध्ये एउटा ट्याक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा समीर लिम्बु, नगेन्द्र थापा, अर्जुन थापा, थर्कबहादुर अधिकारी, ध्रुवबहादुर अधिकारी, रेगिन्द्र अधिकारी, भीमबहादुर काफ्लेलगायत १८ जना मलामी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र खड्काले बताए ।

घाइते अधिकांशको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये चार जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्