दक्षिण अफ्रिकाको लगातार तेस्रो जित:बंगलादेश स्तब्ध

| २०८१ जेठ २९ गते ००: १६ मा प्रकाशित

काठमाडौँ । बंगलादेशलाई रोमान्चक ढंगले पराजित गर्दै दक्षिण अफ्रीकाले आइसीसी टि-२० विश्वकपमा लगातार तेस्रो जित दर्ता गरेको छ । दक्षिण अफ्रिकाले बंगलादेश माथि ४ रनको जित दर्ता गरेको हो।

अन्तिम बलसम्म पुगेको खेलमा दक्षिण अफ्रिकाले दिएको ११४ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले ७ विकेटको क्षतिमा १०९ रन मात्र बनाउन सक्यो । 

बंगलादेशलाई जितका लागि अन्तिम २ ओभरमा १८ रनको आवश्यकता थियो । ओलिभर बार्ट्मनले १९ औ ओभरमा ७ रन मात्र दिएपछि स्पिनर केशव महाराजको अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो ।

महाराजले सुरुवातमा वाइड बल गरे । पहिलो बलमा महमदुल्लाहले १ रन लिए । दोस्रो बलमा जाकेर अलीले २ रन लिन सफल भए । तेस्रो बलमा जाकेर लङ-अनमा क्याच आउट भए । नयाँ ब्याटर रिशाद होसेनले चौथो बलमा लेग-बाइज सहित १ रन लिए । 

दुई बलमा ६ रनको आवश्यकता रहेकोमा महमादुल्लाह फुल-टस बलमा लङ-अनमा नै एइडन मार्क्रमद्वारा क्याच आउट भए । अन्तिम बलमा पनि ६ रन चाहिएको थियो । तर नयाँ ब्याटर तास्किन अहमदले १ रन मात्र लिन सकेपछि दक्षिण अफ्रीका विजयी भयो ।   

बंगलादेशका लागि टोहिड हृदोयले ३४ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ३७ रन जोड्न सफल रहे । महमदुल्लाहके २० तथा नज्मुल हसन शान्टोले १४ रन बनाए । अन्य ब्याटर भने चल्न सकेनन् ।

दक्षिण अफ्रिकाका लागि केशव महाराजले ३ तथा कागीसो रबाडा र एनरिक नोर्ट्जेले २-२ विकेट लिए ।   

त्यसअघि न्युयोर्कमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट मात्र गुमाएर ११३ रन जोड्यो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन जोडे । डेविड मिलरले ३८ बलमा २९ रन बनाए भने ओपनर क्विन्टन डीककले ११ बलमा १८ रन जोडे ।

बंगलादेशका लागि तान्जिम सकिबले सर्वाधिक ३ विकेट लिए भने तास्किन अहमदले २ तथा रिशाद होस्सेनले १ विकेट लिए । 

जित पछि समूह ‘डी’ मा दक्षिण अफ्रिकाको ३ खेलमा ६ अंक भएको छ । बंगलादेश र नेदरल्यान्ड्सको समान २-२ खेलमा समान २-२ अंक रहेको छ भने नेपाल र श्रीलंका अंकविहिन छन् । नेपालले १ खेल खेलेको छ भने श्रीलंकाले २ खेल खेलेको छ ।  (हाम्रो खेलकुद)

प्रतिक्रिया दिनुहोस्