सन्धिखर्क नगरपालिकाद्वारा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई छाता र झोला वितरण

| २०७९ असार १४ गते २१: ५७ मा प्रकाशित

प्रेमनारायण आचार्य ,सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई छाता र झोला वितरण गरेको छ।

महिला स्वास्थ्य स्वयं सेविकाहरुको प्रोत्साहान कार्यक्रमअन्तर्गत नगरभित्र रहेका १२ वटावडाका १ सय ५५ महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई प्रोत्साहनस्वरुप झोला र छाता वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।

वर्षायाममा घरघरमा हिड्न छाता र स्वास्थ्यसामाग्री र रजिष्टर राख्नका लागि झोला प्रदान गरेकोमा आफूहरु खुशी भएको सन्धिखर्क-५ की महिला स्वास्थ्य स्वयं सेविका गोमा भुसालले बताइन्।

झोला र छाता वितरण गर्दै नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले समाज परिवर्तनमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका प्रमुख रहेको बताए। उनले नगरपालिकालाई घरमा हुने प्रसुति मुक्त नगर बनाउन र स्वास्थ्य संस्थामा मात्र सुत्केरी हुने नगर बनाउन सबै स्वयंसेविकाहरु लाग्नुपर्ने बताए।

नगर उपप्रमुख मिश्रा आचार्यले स्वास्थ्य क्षेत्रमा चलेका अभियानहरु खुला दिसामुक्त, पूर्ण खोप अभियानलगायतमा स्वयंसेविकाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै बाल तथा मातृ मृत्युदर कम बनाउनमा स्वयंसेविकाहरुको प्रमुख भूमिका रहेको बताइन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले महिला स्वास्थ्य स्वयंसेविकाहरु समाजका परिवर्तनका संवाहक भएको बताउँदै आगामी दिनमा पनि स्वयंसेविकाहरुको प्रोत्साहन तथा सम्मान कार्यक्रम गर्ने बताए। गाउँका घरघरमा हिड्न तथा अत्यावश्यक सामाग्री लिएर हिँड्दा झोला र छाता आवश्यक रहेकोले झोला र छाता वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाई छ।

गर्भवती जाँच, सुत्केरी जाँच, बालबालिकाले लगाउने खोपका कार्यक्रमलगायतका विभिन्न कार्यक्रममा स्वयंसेविकाहरु अग्रस्थानमा रहेर काम गरेकाले उनीहरुको सम्मान र प्रोत्साहनको कार्यक्रम गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले बताए।

प्रतिक्रिया दिनुहोस्