सन्धिखर्कमा खोजी खोजी कुकुरको स्थायी बन्ध्याकरण गरिँदै

| २०७९ कार्तिक १९ गते २१: ५२ मा प्रकाशित

प्रेमनारायण आचार्य ,अर्घाखाँची। सन्धिखर्क नगरपालिकाले छाडा कुकुरको स्थायी बन्ध्याकरण अभियान थालेको छ । 

बिहान, बेलुकाको समयमा मानिस आवातजावत गर्दा कुकुरले टोक्ने तथा बिहान विद्यालय तथा कलेजमा जाने विद्यार्थीलाई टोक्ने, लखेट्ने समस्या बढ्न थालेपछि नगरले कुकुर नियन्त्रण अभियान थालेको हो । 

सन्धिखर्क यसको उपयुक्त विकल्पका रुपमा स्थायी बन्ध्याकरणको काम थालिएको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । नगरपालिका भित्रका मुख्य सडक तथा शाखा सडकहरुमा छाडा कुकुरहरुको आतंक बढेको तथा कुकुरले पशु चौपायलाई हमाला गर्ने घटना धेरै भएकाले बन्ध्याकरण शिविर सञ्चालन गर्नु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । 

यस शविरिमा नगर भित्रका १ सय २० कुकुरको बन्ध्याकरण गर्ने योजना नगरपालिकाको छ ।

सन्धिखर्क नगरपालिकाका आर्थिक सहयोगमा वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा, सिद्धार्थ नगर रुपन्देहीको आयोजनामा पशु चिकितसक डाक्टर अभिनेस क्षेत्री, डाक्टर सन्दिप भट्टराईलगायतका पशु प्राविधिकको टोलीले कुकुरको स्थायी बन्ध्याकरण भइरहेको छ । 

टोलीले नगरभित्रका कुकुरको खोजी खोजी बन्ध्याकरण गराउने अभियानमा जुटेका छन् । शनिबारदेखि शुरु भएको बन्ध्याकरण तथा रेबिज खोप लगाउने शिविर ३ दिन चल्नेछ । 

प्रतिक्रिया दिनुहोस्