अर्घाखाँची ट्याक्सी व्यवसायी प्रालीको आयोजनामा ‘ट्राफिक सचेतना कार्यक्रम’ सम्पन्न

| २०८१ जेठ ६ गते १४: २६ मा प्रकाशित

लक्ष्मण घिमिरे। अर्घाखाँची ट्याक्सी व्यवसायी प्रालीको आयोजनामा ‘ट्राफिक सचेतना कार्यक्रम’ सम्पन्न भएको छ । 

सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी एक दिने ट्राफिक सचेतना कार्यक्रम गरिएको प्रालीका अध्यक्ष महेन्द्र भुसालले जानकारी दिनुभयो । प्रालीको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले सहजिकरण गरेका थिए ।

कार्यक्रममा यातायात व्यवसायी तथा चालकहरुलाई सवारी सम्बन्धी विद्यमान कानुन, नियम, दुर्घटना न्युनिकरणका उपायहरु, चालकले देखाउनु पर्ने नैतिकता, उस्ले अपनाउनु पर्ने सावधानी लगायत ट्राफिक चिह्नहरुका बारेमा जानकारी गराईएको थियो । 

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक प्रतित सिंह राठोरले बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका सवारी चालक र सवारी धनीलाई सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेकोमा संस्थालाई धन्यवाद दिनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका डिएसपी राठोरले सडक सुरक्षा, ट्राफिक नियम, चिह्न तथा संकेतहरु, सवारी चलाउँदा वा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कताका सम्बन्धमा बेला बेलामा कार्यक्रमहरु गरिरहनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका सदस्य लक्ष्मण घिमिरे, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निरज गौतम लगायतले बोल्दै विभिन्न त्रुटिका कारण दुर्घटना हुने गरेको भएपनी मानव नै जिम्मेवार बन्नुपर्ने बताए। मानव जिवनमा दुर्घटनाले ठुलो भौतिक तथा मानविय क्षती हुने भएकाले सचेतना पुर्वक सवारी चलाउनु पर्नेमा उहाँहरुको जोड थियो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निरज गौतमले कार्यक्रमको प्रस्तुतिकरण गर्ने भएको थियो । कार्यक्रममा यातायात व्यवसायी र चालक गरी ४० जनाको उपस्थिती रहेको थियो । 

कार्यक्रम अर्घाखाँची ट्याक्सी व्यवसायी प्रालीका अध्यक्ष महेन्द्र भुसालको अध्यक्षता, नामदेव बस्यालको स्वागत मन्तव्य तथा संस्थाका महासचिव पशुपती भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्