विश्व विजेता फ्रान्स र युरो विजेता पोर्चुगल भिड्दै

| २०७८ असार ९ गते १६: ०० मा प्रकाशित

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (बुधबार) राति फ्रान्स र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ ।

विश्व विजेता फ्रान्स र साविक विजेता पोर्चुगलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

कठिन मानिएको समूह 'एफ' रहेको फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।

समूहको शीर्ष स्थानमा रहेको फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । पोर्चुगललाई हराएर फ्रान्स समूह विजेता बन्न चाहन्छ ।

'हाम्रो लक्ष्य उत्कृष्ट नतिजा हासिल गर्नु हो,' पोर्चुगलसँग खेल्नु अघि फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेस्च्याम्प भन्छन् ।

समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो। तर, दोस्रो खेलमा फ्रान्स हंगेरीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।

पोर्चुगल पनि फ्रान्सलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । पोर्चुगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

'हामीले जर्मनीसँगको खेल विश्लेषण गरेका छौँ । हामीले पोर्चुगिज ब्राण्डको फुटबल खेलेनौं,' फ्रान्ससँगको खेल अघि पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले भने, 'फ्रान्स धेरै बलियो टिम हो । हामीले अट्याक र डिफेन्ड बलियो बनाउनु पर्छ ।'

समूह चरणको पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । तर, दोस्रो खेलमा पोर्चुगल जर्मनीसँग ४-२ गोल अन्तरले पराजित भएको थियो ।

फ्रान्स र पोर्चुगलबीच मुख्य प्रतियोगितामा पाँचौं पटक प्रतिस्पर्धा हुन लागेको हो । सन् २०१६ को युरोकपको फाइनलमा फ्रान्सले पोर्चुगलसँग खेलेको थियो । उक्त खेलमा पोर्चुगलले फ्रान्सलाई १-० ले हराएर उपाधि जितेको थियो ।

प्लेयर्स टु वाच -

क्रिस्टियानो रोनाल्डो – पोर्चुगल

युरोपियन च्याम्पियनसिपमा ५ संस्करण खेल्ने खेलाडीको कीर्तिमान पोर्चुगिज कप्तान रोनाल्डोसँग रहेको छ । समूह चरणको दुई खेलमा ३ गोल गर्दै रोनाल्डोले १२ गोल पूरा गर्दै युरोकपमा सर्वाधिक धेरै गोलकर्ताको कीर्तिमान समेत बनाए ।

त्यसैले रोनाल्डो फ्रान्सविरुद्ध पोर्चुगलका लागि महत्वपूर्ण खेलाडी बन्न सक्छन् । ३६ वर्षीय रोनाल्डो सिरी ए क्लब युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । त्यसअघि रोनाल्डोसँग रियल मड्रिडबाट ९ वर्ष र म्यानचेस्टर युनाईटेडबाट ६ वर्ष खेलेको अनुभव छ ।

रोनाल्डोले पोर्चुगलको सिनियर टोलीबाट १ सय ७७ खेल खेल्दै १ सय ७ गोल गरेका छन् ।

केलियन एमबाप्पे – फ्रान्स

तिव्र गतिको दौड र उत्कृष्ट फिनिसङबाट परिचित युवा अट्याकर एमबाप्पे पोर्चुगलविरुद्ध फ्रान्सका लागि सबैभन्दा महत्वपूर्ण खेलाडी हुनेछन् ।

घरेलु क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्दै आएका एमबाप्पे पोर्चुगिज डिफेन्डरका लागि टाउको दुखाइको विषय बन्न सक्छन् । २२ वर्षीय उनले राष्ट्रिय टोलीबाट ४६ खेलमा १७ गोल गरिसकेका छन् ।

विश्वकप विजेता टिमका खेलाडी एमबाप्पेले सुरुवाती दुबै खेलमा ९० मिनेटनै मैदानमा बिताएका थिए ।

प्रतिक्रिया दिनुहोस्