स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा

| २०७८ असार १९ गते ०१: १० मा प्रकाशित

एजेन्सी । तीन पटकको च्याम्पियन स्पेन १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रुसमा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो ।

सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । पेनाल्टी सुटआउटमा स्पेनले बाजी मार्यो ।

पेनाल्टीमा स्पेनका डानिल ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयार्जबलले गोल गरे  । स्पेनका सर्जियो बुस्केट्सको प्रहार पोस्टमा लागेर फर्किदा रोड्रीको प्रहार स्विस गोलकिपर यान सोमेरले बचाए ।

स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले मात्र गोल गरे । फाबियन,  अकान्जी  म्यानुएलको प्रहार स्पेनिस गोलकिपर सिमोनले बचाए भने रुबेन भेर्गासको प्रहार बाहिरिएको थियो ।

पेनाल्टीमा जानु अघि खेलको आठौं मिनेटमा स्पेनले आत्मघाती गोल उपहारबाट अग्रता बनाएको थियो । स्विट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरे ।

स्पेनका जोर्डी अल्बाले बक्स बाहिरबाट प्रहार गरेको बल डेनिसलाई लाग्दै गोलमा परिणत भएको थियो ।   

तर, खेलको ६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई १-१ गोलको बराबरीमा फर्काए । उनले रिमो फ्रिउलरको पासमा गोल गरे ।

खेलको ७८ औं मिनेटमा स्विट्जरल्यान्ड १० खेलाडीमा समेटियो । उसका फ्रिउलर रातो कार्ड पाउदै मैदानबाट बाहिरिएका थिए । स्पेनका जेरार्ड मोरेनोलाई खराब ट्याकल गरेपछि उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।

अब स्पेनले सेमिफाइनलमा बेल्जियम र इटालीबीचको विजेतासँग खेल्नेछ ।

प्रि-क्वाटरफाइनलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले हराएर अन्तिम आठको यात्रा तय गरेको थियो ।  

स्विट्जरल्यान्डले साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराएर स्पेनसँगको भेट पक्का गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्