अमेरिकामाथि नेपालको सानदार जित

| २०७८ भदौ २८ गते २३: ५९ मा प्रकाशित

काठमाडौं– युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको छ ।

अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल ८७ बलमा २ चौका र ३ छक्का सहित ६२ रनमा अविजित रहँदै नेपालको जित पक्का गराए । विकेटकिपर विनोद भण्डारी ४८ बलमा २ चौका र १ छक्का सहित ३७ रनमा क्याच आउट भए ।

पाँचौ विकेटका लागि रोहित र विनोदले ८३ रनको कीर्तिमानी साझेदारी गर्दै नेपालको जित पक्का गराएका हुन् । नेपालको ओडिआईमा पाँचौ विकेटका लागि भएको यो उच्च साझेदारी हो ।

रोहितले ७९ बलमा छक्का साथ आफ्नो ओडिआई करिअरको कीर्तिमानी अर्धशतक पूरा गरे । रोहितको यो ओडिआई करिअरमा लगातार दोस्रो अर्धशतक हो । उनी नेपालबाट ओडिआईमा तेस्रो अर्धतक बनाउने पहिलो खेलाडी हुन् । ओपनर कुशल भुर्तेलले ९३ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ८४ रनको योगदान दिए ।

स्पिनर निसर्ग पटेलको ३३ औं ओभरको पहिलो बलमा एलबीडब्लू आउट भएपछि कुशल शतक बनाउन १६ रनले चुकेका थिए । नेपालबाट एकै खेलमा व्यक्तिगत यो तेस्रो ठूलो रन हो । यसअघि २०१९ मा पारस खड्काले यूएईविरुद्ध १ सय १५ र रोहित कुमार पौडेलले पिएनजीसँग ८६ रन छ ।

नेपाललाई पहिलो विकेटका लागि ओपनर आसिफ शेख र कुशलले १४ ओभरमा ६६ रनको कीर्तिमानी साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । आसिफ शेख ४२ बलमा २ चौका सहित २३ रनमा क्याच आउट भए । नेपाली ओडिआई क्रिकेट ओपनरले पहिलो विकेटका लागि गरेको यो उच्च साझेदारी हो । यसअघि नेपालबाट ओडिआईमा पहिलो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी ६१ रन थियो । जुन साझेदारी २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले युएईविरुद्ध गरेका थिए ।

आसिफ नोश्टुश केंजीगेको बलमा निसर्ग पटेलबाट क्याच आउट भएका थिए । २१ औं ओभरको पहिलो बलमा स्पिनर निसर्ग पटेलले कप्तान ज्ञानेन्द्र मल्ललाई १७ रनमा एलबीडब्लू आउट गरे । ज्ञानेन्द्रले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । कुशल मल्ल तेस्रो खेलमा पनि एक रनमा आउट भए । यसअघि पिएनजीसँगको दुबै खेलमा कुशल एक एक रनमा आउट भएका थिए । कुशल मल्ललाई ३४ औं ओभरको तेस्रो बलमा कुशललाई सौरभ नेत्रवालकारले विकेटकिपर मोनांक पटेलबाट क्याच आउट गराएका थिए ।

अमेरिका कप्तान सौरभ नेत्रवालकरले १० ओभरमा २ मेडन सहित ३० रन खर्चेर १ विकेट लिए । स्पिनर निसगै पटेलले १० ओभरमा १ मेडन सहित ३३ रन खर्चेर २ विकेट लिए । नास्टुश केजोंगीले २ विकेट लिए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो । अमेरिका मोनांक पटेलले १ सय १४ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेले । पटेल अमेरिकाबाट ओडिआईमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् । उनले १ सय १३ बलमा ओडिआई करिअरको पहिलो शतक पूरा गरेका थिए । विक्रम सोबको ४७ औं ओभरको पहिलो बलमा दुई रन बटुल्दै शतक पूरा गरेका थिए ।


शतक प्रहार गरेको अर्को बलमा ठूलो सट खेल्नेक्रममा कुशल भुर्तेलबाट लङअफमा क्याच आउट हुन पुगेका थिए । यसै साता पिएनजीविरुद्ध १ सय ७३ रनको इनिङ खेल्दै जसकरण मल्होत्रा अमेरिकाबाट ओडिआईमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए ।

मोनांक पटेल बाहेक अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् । अमेरिकालाई ओपनर स्टिभ टेलर र मोडानीले पहिलो विकेटका लागि ३।५ ओभरमा १७ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर विक्रम सोबको बलमा टेलर एज लागेर सकेन्ड स्लिपमा कुशल भुर्तेलबाट १४ रनमा क्याच आउट हुन पुगेका थिए । टेलरले १७ बलमा १ चौका प्रहार गरे ।

१० औं ओभरको अन्तिम बलमा मोडानीलाई स्पिनर सन्दीप लामिछानेले १६ रनमा एलबिडब्लू आउट गर्दै नेपाललाई दोस्रो सफलता दिलाए । मोडानीले २८ बलमा १ चौका प्रहार गरे । तेस्रो विकेटको लागि मोनांक पटेल र निसर्ग पटेलले ४९ रनको साझेदारी गर्दैै इनिङ खेलेका थिए । स्पिनर कुशल मल्लले निसर्गलाई २१ रनमा बोल्ड आउट गर्दै साझेदारी तोडेका थिए । अमेरिकाले नेपाललाई सरप्राइज दिँदै तल्लोक्रमका ब्याट्सम्यान नास्टुश केंजोगेलाई पाँचौ नम्बरमा पठाएको थियो । उनी १३ रनमा आउट भए ।

३७ औं ओभरको दोस्रो बलमा स्पिनर सुशान भारीले जसकरण मल्होत्रालाई ११ रनमा कुशल भुर्तेलबाट क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाए । मल्होत्राले यसै साता पपुवा न्युगिनीविरुद्ध ६ बलमा ६ छक्का सहित १ सय ७३ रनको अविजित उत्कृष्ट शतकीय इनिङका साथ विश्व क्रिकेटमा सनसनी मच्चाएका थिए ।

भारीकै बलमा ठूलो सर्ट खेल्ने धुनमा सन्जय कृष्णमुर्ती १३ रनमा करण केसीबाट क्याच आउट भएका थिए । करिमा गोरलाई सन्दीपले १६ रनमा रन आउट गराए । अभिषेक पराडकार १३ र कप्तान सौरभ नेत्रवालकार ६ रनमा अविजित रहे ।

नेपालका स्पिनर सुशान भारीले १० ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । स्पिनर सन्दीप लामिछानेले १० ओभरमा २ मेडन सहित ३५ रन खर्चेर २ विकेट लिए । विक्रम सोबले ६ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लको नाममा एक विकेट रह्यो । नेपालले दोस्रो खेलमा घरेलु टोली ओमानसँग मंगलबार खेल्नेछ ।स्रोत - हाम्रोखेलकुद 

प्रतिक्रिया दिनुहोस्