स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

| २०८० बैशाख ३ गते २३: ५२ मा प्रकाशित

एजेन्सी। कप्तान सञ्जु स्यामसन र शिम्रन हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २३ औं खेलमा गुजरात जायन्ट्सलाई तीन विकेटले पराजित गरेको छ । राजस्थान ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ अंक तालिकामा शीर्ष स्थानमा छ ।

जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । राजस्थानको जितमा शिम्रन हेटमायरले २६ बलमा २ चौका र ५ छक्कासहित ५६ रनको उत्कृष्ट अविजित इनिङ खेले । स्पिनर नुर अहमदलाई छक्का हान्दै हेटमायरले खेल सकाएका थिए । कप्तान सञ्जु स्यामसन ३२ बलमा ३ चौका र ६ छक्कासहित ६० रनमा आउट भए।

एक समय राजस्थान ओपनर यशस्वी जैसवाल एक र जस बटलर डक आउट हुँदा ४-२ को अवस्थामा थियो । देवदत्त पाडिक्कल २५ बलमा २ चौका र २ छक्कासहित २६, रियान पराग ५ र ध्रुव जुरेल १७ रनमा आउट भए ।

पाँचौं विकेटका लागि स्यामसन र हेटमायरले २७ बलमा ५९ रनको उत्कृष्ट साझेदारी गरेका थिए । स्यामसन स्पिनर नुर अहमदको बलमा डेविड मिलरबाट क्याच आउट भए । छैटौं विकेटका लागि ध्रुव जुरेल र हेटमायरले २० बलमा ४७ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

जुरेलले १० बलमा २ चौका र १ छक्का प्रहार गरे । रविचन्द्रन आश्विन ३ बलमा १ चौका र १ छक्कासहित १० रनमा आउट भए । गुजरातका मोहम्मद शामीले ४ ओभरमा १ मेडनसहित २५ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । राशिद खानले ४ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । हार्दिक पान्ड्या र नुर अहमदले समान एक एक विकेट लिए ।

त्यसअघि घरेलु मैदान अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । गुजरातका डेविड मिलर ३० बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४६ रनमा आउट भए ।

ओपनर शुभमन गल ३४ बलमा ४ चौका र १ छक्कासहित ४५ रनमा आउट भए । ऋद्धिमान शाह ४, साइ सुदर्शन २०, हार्दिक पान्ड्या २८ र अभिनव मनोहर २७ रनमा आउट भए । अभिनवले १३ बलमा ३ छक्का हाने ।

राजस्थानका सन्दीप शर्माले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहल, ट्रेन्ट बोल्ट, एडम जाम्पाले समान एक विकेट लिए ।हाम्रो खेलकुद 

प्रतिक्रिया दिनुहोस्