कोहलीको शतकमा बेंगलोरको सानदार जित

| २०८० जेठ ४ गते २३: २२ मा प्रकाशित

एजेन्सी – ओपनर विराट कोहलीको शतकमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६५ औं खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको छ । यो जितसँगै बेंगलोरले शीर्ष चारमा रहँदै सोझै प्लेअफ खेल्ने सम्भावना उच्च बनाएको छ ।

जितको लागि १ सय ८७ रनको बलियो विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरका ओपनर विराट कोहलीले ६३ बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेले । कोहलीको यो आइपिएल करिअरको छैटौं शतक हो ।

पहिलो विकेटका लागि कोहली र फाफ डु प्लेसिसले १७.५ ओभरमा १ सय ७२ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । डु प्लेसिस ४७ बलमा ७ चौका र २ छक्कासहित ७१ रनमा आउट भए । ग्लेन म्याक्सवेल ५ र माइकल बेसवेल ४ रनमा नटआउट रहे । हैदराबादका टि नटराजन र भुवनेश्वर कुमारले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली हैदराबादले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । हैदराबादका विकेटकिपर हेनरिक क्लासेनले ५१ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक १ सय ४ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् ।

उनको यो आइपिएल करिअरको पहिलो शतक थियो । चौथो विकेटका लागि ह्यारी ब्रुक र हेनरिक क्लासेनले ३६ बलमा ७४ रनको साझेदारी गरेका थिए । ब्रुक १७ बलमा २ चौका र १ छक्कासहित २७ रनमा नटआउट थिए ।

त्यसपघि कप्तान एडेन माक्ररम र क्लासेनले तेस्रो विकेटका लागि ५० बलमा ७६ रनको साझेदारी गरेका थिए । माक्ररम २० बलमा १८ रनमा आउट भए । ओपनर अभिषेक शर्मा ११ र राहुल त्रिपाठी १५ रनमा आउट भएका थिए । दुबै ओपनर स्पिनर माइकल ब्रेसवेलको बलमा क्याच आउट भएका थिए ।

बेंगलोरका माइकल ब्रेसवेलले २ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराजले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । हर्षल पटेल र शहबाज अहमदले समान एक विकेट लिए ।

बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंकका साथ चौथो स्थानमा छ । बेंगलोरले आइतबार गुजरातसँग खेल्नेछ । उक्त खेलमा बेंगलोर विजयी हुँदा १६ अंकमा पुग्नेछ । नेटरनरेटको कारण मुम्बईलाई पछि पार्दै प्लेअफ खेल्नेछ । मुम्बई १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंकका साथ पाँचौं स्थानमाछ । मुम्बई नेटरनरेटमा पछिछ ।

गुजरात टाइटन्स १३ खेलमा ९ मा जित र ४ मा हारसहित १८ अंकका साथ शीर्ष स्थानमा रहँदै क्वालिफायर खेल्ने पक्का भएको छ । चेन्नईको १३ खेलमा ७ मा जित र ५ मा हारसहित १५ अंकका साथ दोस्रो स्थानमा छ । समान खेल र नतिजाका साथ १५ अंक भएपनि नेटरनरेटका कारण लखनऊ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्