पाकिस्तानमाथि भारतको २ सय २८ रनको सानदार जित

| २०८० भदौ २६ गते ००: १४ मा प्रकाशित

एजेन्सी। भारतले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानलाई २ सय २८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितको लागि ३ सय ५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान ३२ ओभरमा १ सय २८ रनमा अल आउट भयो ।

पाकिस्तानका अघा सलमान र इफ्तिखार अहमदले सर्वाधिक २३-२३ रन बनाए । ओपनर फखार जमान २७, इमाम उल हक ९, बाबर आजम १० र मोहम्मद रिजवान २ रनमा आउट भए ।

भारतका तीव्र गतिका बलर जस्प्रित बुमराहको पाँचौं ओभरको दोस्रो बलमा ओपनर उमाम उल हक एज लागर स्पिलमा शुभमन गिलबाट क्याच आउट हुन पुगे।

११ औं ओभरको चौथो बलमा हार्दिक पान्ड्याले बाबर आजमलाई बोल्ड आउट गरेपछि पाकिस्तान समस्यामा परेको थियो ।

रिजवानलाई शार्दुल ठाकुरले आउट गरेपछि पाकिस्तानको जितको सम्भावना कठिन बनेको थियो । त्यसपछि कुलदीप यादवले पाकिस्तानको इनिङ ध्वस्त पारेका थिए । नसिम शाह र हरिस रौफ भने ब्याटिङमै आएनन् । यी दुबै खेलाडी बलिङको क्रममा घाइते भएका थिए ।

भारतका स्पिनर कुलदीप यादवले ८ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए । जस्प्रित बुमराह, हार्दिक पान्ड्या र शार्दुल ठाकुरले एक एक विकेट लिए ।

त्यसअघि श्रीलंकाको कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३ सय ५६ रन बनाएको थियो ।

भारतको जितमा विराट कोहलीले ९४ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय २२ रनको सानदार शतकीय इनिङ खेले । कोहली नै खेलको प्लेयर अफ द म्याच चुनिए । लोकेश राहुलले १ सय ६ बलमा १२ चौका र २ छक्कासहित १ सय ११ रनमा नट आउट रहे ।


तेस्रो विकेटका लागि कोहली र राहुलले १ सय ९४ बलमा २ सय ३३ रनको सानदार अविजित दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए। भारतलाई ओपनर रोहित शर्मा र शुभमन १६.४ ओभरमा १ सय २१ रनको शानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

रोहित शादब खानको बलमा फहिम अशरफबाट क्याच आउट भएका थिए । कप्तान रोहित शर्मा ४९ बलमा ६ चौका र ४ छक्कासहित ५६ रनमा आउट भए । युवा ब्याटर शुभमन गिल ५२ बलमा १० चौकासहित ५८ रनमा आउट भए ।

गिल शाहिन शाह अफ्रिदीको बलमा एक्स्ट्रा कभरमा अघा सलमानबाट क्याच आउट भए । त्यसपछि भने पाकिस्तानी बलरले विकेट लिन सकेनन् । सोमबार भने हरिस रौफ फिट नहुँदा बलिङ गरेनन् । पाकिस्तानलाई जसको कारण ठूलो घाटा लागेको थियो ।

पाकिस्तानका शादब खानले १० ओभरमा १ मेडनसहित ७१ रन खर्चेर १ विकेट लिए । शाहिन शाह अफ्रिदीले १० ओभरमा ७९ रन खर्चेर १ विकेट लिए ।

आइतबार वर्षाको कारण भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा खेल स्थगित भएको थियो । भारतले त्यसै अवस्था खेल सुरु गरेको थियो । भारतले मंगलबार श्रीलंकासँग खेल्नेछ । पाकिस्तानले बिहीबार श्रीलंकासँग खेल्नेछ ।

सुपर फोरमा भारतको यो पहिलो खेल थियो । यस जितले फाइनल सम्भावना मजबुत बनेको छ । पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई ७ विकेटले हराएको थियो । पाकिस्तान फाइनलमा पुग्न श्रीलंकालाई हराउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्