म्याक्सवेलको दोहोरो शतकसामु चकनाचुर बन्यो अफगानिस्तानको सपना

| २०८० कार्तिक २१ गते २२: ४१ मा प्रकाशित

काठमाडौँ । ग्लेन म्याक्सवेलको कीर्तिमानी दोहोरो शतकको मद्दतले अफगानिस्तानलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार मुम्बईको वानखेडे स्टेडियममा म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई ३ विकेटको रोमाञ्चक जीत दिलाएका हुन् ।

अफगानिस्तानले यसअघि पाकिस्तान र इङ्ल्यान्डजस्ता पूर्व विश्वविजेता टोलीलाई पराजित गरेको थियो । कुनै समय अस्ट्रेलियालाई पनि तनावमा राखेको टोली एक्लो म्याक्सवेलसामु नतमस्तक बन्यो । ९१ रनमा ७ विकेट गुमाएको अस्ट्रेलियालाई म्याक्सवेलले अफगानिस्तानले प्रस्तुत गरेको २ सय ९२ को लक्ष्यसम्म पुर्‍याएका हुन् । 

यसअघि अफगानिस्तानले पाँच विकेट गुमाएर २९१ रन बनाएको थियो । ओपनर इब्राहिम जाद्रानले शतक प्रहार गर्दै १२९ रनको अविजित इनिङ खेले । अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले तीव्र सुरुवात गर्ने प्रयास गरे र २५ बलमा २१ रन बनाएर आउट भए । 

त्यसपछि अफगानिस्तानका ब्याट्सम्यानले एकपछि अर्को गर्दै आउँदै जाँदै गरे तर जादरान अर्को छेउबाट अडिग रहे । रहमत शाहले ४४ बलमा ३० रन, हसमतुल्लाह शाहिदीले ४३ बलमा २६ रन, अजमत उल्लाह उमरजाईले १८ बलमा २२ रन बनाए । राशिद खानले अन्तिम ओभरमा आक्रामक पाली खेले । खानले १८ बलमा ३५ रन बनाए । 

प्रतिक्रिया दिनुहोस्