श्रीलंकामाथि सानदार जितसँगै न्युजिल्यान्डले सेमिफाइनल खेल्ने उच्च सम्भावना

| २०८० कार्तिक २३ गते २०: १९ मा प्रकाशित

एजेन्सी – न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ मा श्रीलंकामाथि पाँच विकेटको सानदार जित हात पार्दै सेमिफाइनल लगभग पक्कापक्की जस्तै गराएको छ । न्युजिल्यान्ड ९ खेलमा ५ मा जित र ४ मा हारसहित ४ मा हारका साथ चौथो स्थानमा छ ।

जितको लागि १ सय ७२ रनको मध्यम विजयी लक्ष्य न्युजिल्यान्डले २३.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा डर्याल मिचेलले ३१ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए ।

न्युजिल्यान्डलाई ओपनर डेभन कन्वे र रचिन रविन्द्रले १२.२ ओभरमा ८६ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । कन्वे ४२ बलमा ९ चौकासहित ४५ रनमा आउट भए । रचिन ३४ बलमा ३ चौका र ३ छक्कासहित ४२ रनमा आउट भए ।

ग्लेन फिलिप्स १७, केन विलियम्सन १४, मार्क च्यापम्यान ७ र टम लाथमले २ रन बनाए । एन्जिलो म्याथ्युजले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । महेश थिक्सेना र दुश्मान्था चामिराले एक एक विकेट लिए ।

त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४६.४ ओभरमा १ सय ७१ रनमा अल आउट भएको थियो । श्रीलंकाका ओपनर कुशल परेराले २८ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ५१ रन बनाए । महेश थिक्सेना ९१ बलमा ३ चौकासहित ३८ रनमा नट आउट रहे । दिलशान मदुशानका र धनन्जय डि सिल्भाले १९–१९ रन बनाए ।

एन्जिलो म्याथ्युज १६ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । न्युजिल्यान्डका ट्रेन्ट बोल्टल १० ओभरमा ३ मेडनसहित ३७ रन खर्चेर ३ विकेट लिए । लोकी फर्गुसन, मिचेल सान्टनार र रचिन रविन्द्रले समान दुई विकेट लिए ।

अव १० अंकमा अफगानिस्तान र पाकिस्तान मात्रै पुग्न सक्छन् । तर नेटरनरेटको कारण पाकिस्तान र अफगानिस्तान दुबै बाहिरिने उच्च सम्भावना छ । अफगानिस्तान ८ खेलमा ४ मा जित र ४ मा हारसहित छैटौं स्थानमा छ ।

अफगानिस्तानले अन्तिम खेल शुक्रबार दक्षिण अफ्रिकासँग खेल्नेछ । पाकिस्तान ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ पाँचौं स्थानमा छ । पाकिस्तानले अन्तिम खेल शनिबार इंग्ल्यान्डसँग खेल्नेछ ।

पाकिस्तानको नेटरनरेट प्लस ०.०३६ र अफगानिस्तानको माइनस ०.३३८ छ । न्युजिल्यान्डको नेटरनरेट प्लस ०.७४३ छ । नेटरनरेटकै कारण न्युजिल्यान्डले सेमिफाइनल खेल्ने लगभग पक्कापक्की जस्तै देखिन्छ ।

भारत ८ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । दक्षिण अफ्रिका ८ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ । अष्ट्रेलिया ८ खेलमा १२ अंकका साथ तेस्रो स्थानमा छ । दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाले सेमिफाइनल खेल्ने भएको छ ।

भारतले चौथो स्थानमा रहने टोलीसँग खेल्नेछ । न्युजिल्यान्ड र भारतले सेमिफाइनल खेल्ने सम्भावना छ । पहिलो सेमिफाइनल १५ नोभेम्बर र दोस्रो सेमिफाइनल १६ नोभेम्बरमा हुनेछ । फाइनल भने १९ नोभेम्बरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्