क्यानडाविरुद्धको एकदिवसीय अन्तरराष्ट्रिय सिरिज नेपाललाई

| २०८० माघ २७ गते १८: १० मा प्रकाशित

काठमाडौँ। क्यानडाविरुद्धको एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेट सिरिज नेपालले जितेको छ। आज भएको दोस्रो खेलमा नेपालले क्यानडामाथि ४ विकेटको जित निकाल्दै एक खेलअगावै सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो।

जितका लागि क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर भेटायो। नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रनको योगदान गरे। देव खनालले ७६ रन जोडे। नेपालका लागि ओपनर अनिलकुमार शाहले एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक प्रहार गरे।

२० बलको सामना गरेका अनिलले ७ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाएका हुन्। अनिलले एकदिवसीय अन्तरराष्ट्रियमा नेपालका खेलाडीमध्ये सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमानी समेत बनाएका छन्। यसअघि पपुवा न्युगिनीविरुद्धको खेलमा आसिफ सेखले २१ बलमा अर्धशतक प्रहार गरेका थिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको क्यानडाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनायो। क्यानडाका लागि अरुन जोनसेनले सर्वाधिक ६५ रनको योगदान गरे।

नवनीत धलिवालले ४६, श्रीयांश मोभाले ४०, प्रगत सिंहले ३८, निकोलस किर्टनले २० र दिलप्रीत बाजवाले १९ रनको योगदान गरे। क्यानडा दुई खेलाडी बाहेक सबै ब्याट्सम्यानले दोहोरो अंकको रन बनायो। नेपाल र क्यानडाबीचको तेस्रो तथा अन्तिम खेल पर्सि सोमबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्