एनआरएनए इजरायलको निर्वाचन आयुक्तमा ओली, भन्छन्–चुनाव हुन दिन्न

| २०७८ असार ३० गते १४: ०८ मा प्रकाशित

इजरायल । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) इजरायलको निर्वाचन समिति संयोजकमा संरक्षक दीपकप्रसाद ओली चयन भएका छन्।

संघको आगामी २४ जुलाइमा सातौं राष्ट्रिय अधिवेशन तय भएको छ । संघले नयाँ कार्यसमिति छनोटका लागि ओलीको नेतृत्वमा निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा अन्य सदस्य छनोट गर्न ओली स्वयम्लाई जिम्मेवारी दिइएको महासचिव श्रीकृष्ण भण्डारी जानकारी दिए ।

प्रवास खबरलाई प्राप्त जानकारी अनुसार एनआरएनए इजरायलको आगामी नेतृत्वका लागि ३ जना दावेदारीमा छन् । तर, निर्वाचन आयुक्त ओलीले भने आफूले कुनै पनि पदका लागि चुनावी मैदानमा नजाने वातारण मिलाउने बताउँछन् । ‘सहमतिमै नयाँ कार्यसमिति निर्माण गर्नुपर्छ भन्ने मेरो उद्देश्य हो । सबैलाई मिलाएर नयाँ कार्यसमिति गठन गर्नेछु । कुनै पनि पदमा चुनाव हुन दिन्न ।’

सामाजिक संस्थामा पदको लागि हानाथाप गर्न नहुने उनको तर्क छ । उनले सर्वसहमतिमा कार्य समिति निर्माण गर्न आफूले गृहकार्य सुरु गरिसकेको पनि बताए । ‘संस्थामा काम गर्न पद नै चाहिन्छ भन्ने छैन्। मिलाएर सबैलाई मान्य हुने कार्यसमिति बनाउन मेरो अन्तिम समयसम्म प्रयास रहनेछ ।’ इजरायललाई उदाहरणीय एनसीसी बनाउने उनको दावी छ ।

संघले अहिले सदस्यता वितरण कार्यलाई तिव्रता दिएको महासचिव भण्डारीले बताए । एमआइएस सिष्टमबाट १७ जुनसम्म सदस्यता आवेदन खुल्ला गरिएको भण्डारीकोे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्