लामो दुरीमा भएका प्रेमीहरूलाई चुम्बन गर्न अनुमति दिने अचम्मको ‘डिभाइस’

| २०७९ फागुन १६ गते १६: १९ मा प्रकाशित

एजेन्सी - रिमोट किस, एउटा यस्तो अचम्मको फोन एक्सेसरी हो जुन पछिल्लो समय चिनियाँ बजारमा निकै चर्चित छ । चीनको चाअङ्जो विश्वविद्यालयले ‘लङ डिस्टेन्स रिलेसनसिप’ मा रहेका जोडीहरूलाई मध्यनजर गर्दै वास्तविक अनुभूति गर्न सकिने डिभाइस निर्माण गरेको छ । 

रिमोट किस नाम दिइएको यो उपकरणमा सिलिकन, ओठ, प्रेसर सेन्सर र एक्चुएटरहरु जडान गरिएको छ । यसले गर्दा हजारौँ किलोमिटर टाढा भएका प्रेम जोडीलाई एक अर्कासँग चुम्बन गरेको अनुभव गराउँछ । केही रिपोर्टका अनुसार यस डिभाइसले ओठको दबाब, चाल र तापक्रमलाई नक्कल गर्न सक्ने भएको हुँदा वास्तविक चुम्बनको अनुभूति गर्न सकिन्छ । यसका साथै यसले चुम्बन गर्दा निस्किने आवाजलाई पनि चिन्न सक्छ । 

रिमोट किस केही समयका लागि चिनियाँ अनलाइन बजारमा उपलब्ध भएको थियो तर मानिसहरूले यसको फोटो सोसल मिडियामा सार्वजनिक गर्न थालेपछि यो पछिल्लो समय भाइरल भएको छ । 

यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले मोबाइलमा एउटा एप डाउनलोड गर्नुपर्ने हुन्छ । तत्पश्चात् चुम्बन पठाउन आफ्नो फोनको चार्जिङ पोर्टमा उपकरण जोडेर जोडीहरूले भिडियो कन्फरेन्स सुरु गर्न सक्छन् । यसका लागि दुई जना व्यक्तिको सहमति चाहिन्छ । 

ग्लोबल टाइम्सका अनुसार यो उपकरणका मूल सर्जक जियाङ झोङ्ली हुन् । उनी चाङझाउ भोकेशनल इन्स्टिच्युट अफ मेकाट्रोनिक टेक्नोलोजीका ग्र्याजुएट हुन् । उनले केही वर्ष अघि युनिभर्सिटीको प्रोजेक्ट अन्तर्गत यसको निर्माण गरेका हुन् । त्यसपछि सन् २०१९ मा यसको पेटेन्टका लागि आवेदन दिए । तर त्यो पेटेन्टको यस वर्ष म्याद सकियो । झोङ्ली आफ्नो आइडिया यति चर्चित भएकोमा दङ्ग छन् । यसलाई मानिसहरूले थप परिष्कृत गर्ने कुरामा आशावादी छन् ।

‘म युनिभर्सिटीमा हुँदा, म मेरी प्रेमिकासँग लङ डिस्टेन्स रिलेशनसिपमा थिएँ । उनीसँग फोनमार्फत मात्रै सम्पर्क हुन्थ्यो । त्यति नै बेला यो उपकरणको आइडिया आयो ,’ झियाङ झोङ्लीले भने ।

प्रतिक्रिया दिनुहोस्