चम्पाको मृत्यु प्रकरणमा नेपाली संघसस्थाहरु आन्दोलित (तस्विर -भिडियो सहित)

| २०७९ चैत ५ गते १७: ०१ मा प्रकाशित

खिमराज चालिसे चंडिगढ। हरियाणा राज्यको पंचकुला सेक्टर ४ को एक कोठीमा शंकास्पद रुपमा मृत भेटिएकी नेपाली युवती चम्पा गन्धर्वलाई न्याय दिलाउन नेपाली समुदाय विरोधमा उत्रिएका छन् ।

 नेपाली युवती चम्पा गन्धर्वलाई न्याय दिलाउन नेपाली समुदाय विरोधमा

कपिलवस्तु बाणगंगा नगरपालिकाकी २२ वर्षीया चम्पा गएको १६ मार्चमा मृत भेटिएकी थिइन् । उनको हत्या भएको आशंकामा छानबिनको माग गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलगायतनेपाली संघसंस्थाहरु आन्दोलित भएका छन्।

घटनाको तीन दिनसम्म पनि मृतकका आफन्तहरूबाट पटक पटक पुलिससँग एफआईआर दर्ज गर्न गरिरहेको अनुरोध अस्वीकार गरेपछि मूल प्रवाह, प्रवासी संघ र वेलफेयर समेत १० वटा संघसस्थाहरुले संयुक्त प्रदर्शन गरेका हुन् । उनीहरुले आन्दोलनलाई अझै सशक्त पार्न प्रेम आचार्यको संयोजकत्वमा २१ सदस्यीय आन्दोलन को–आर्डिनेशन कमिटी गठन गरेका छन् ।

चम्पा गन्धर्वलाई न्याय दिलाउन नेपाली समुदाय विरोधमा

हिजो (१८ मार्च) संघसंस्थाका प्रतिनिधिमन्डलले घटनास्थलको निरीक्षण समेत गरेको छ । घटनास्थलको निरीक्षणमा सहभागी खेमनाथ र प्रेम आचार्यले चम्पाको मृत्यु सामान्य नभएको र हत्या गरेर झुण्ड्याएजस्तो देखिएको बताउनुभयो ।

उहाँहरुका अनुसार तीन फुट माथि रहेको तौलिया राख्ने कुन्डा अत्यन्तै पातलो रहेको, ढोकाको कुन्डि दुवैतर्फ टुटेको, शवको मुखबाट रगत निस्किएको जस्ता असामान्य प्रमाण हुँदाहुँदै प्रशासनले एफआईआर दर्ज गर्न आनाकानी गर्नुले हत्यालाई आत्महत्याको रुप दिन प्रशासनले नै मद्दत गरेको आशंका उब्जिएको छ ।

सो घटनाविरुद्ध मूल प्रवाह समेत १० संघसंस्थाले गरेको नाराजुलुस र पुलीस चौकी सेक्टर २ घेराउपछि शनिबार साँझ साढे सात बजे एफआईआर दर्ज गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्