इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको रकेट आक्रमणमा ९ नेपाली घाइते: १४ जना विद्यार्थीहरू आक्रमणकारीको घेरामा

| २०८० असोज २० गते १७: ४० मा प्रकाशित

सुनिल श्रेष्ठ ,तेलअभिव। प्यालेस्टिनी विद्रोही समूह हमासको रकेट आक्रमणमा ९ जना नेपाली कृषि विद्यार्थी घाइते भएका छन् ।

दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएका हुन् । उनीहरू लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले आक्रमणमा परी ७ जना विद्यार्थी घाइते भएको पुष्टि गरे पनि ९ जाना घाइते भएको एनआरएन इजरायलका अध्क्षय श्रीकृष्ण भण्डारीले बताएका छन् ।

नेपालीहरूको अवस्थाबारे इजरायली परराष्ट्र मन्त्रालय र उद्धार टोलीलाई खबर गरिसकेको राजदूत रिजाले बताएकी छिन् । त्यस्तै सोही कृषि फार्मको आवासमा रहेका घाइते सहित १४ जना विद्यार्थीहरू आक्रमणकारीको घेरामा रहेका छन् ।

यसै बीच एनआरएन इजरायलका अध्क्षय भण्डारीले सङ्कटग्रस्त स्थानका नेपालीहरुको उद्दारको लागि नेपाली राजदूतलाई यथासक्य पहल गर्न अपिल गरेका छन् साथै सङ्कटमा रहेका नेपालीहरुलाई कुनै समस्या भएमा एनआरएन इजरायल या राजदूतावासमा सम्पर्क राख्न आवहान गरेका छन् ।

आक्रमण जारी रहेकाले विद्यार्थीहरूलाई सतर्क रहन आग्रह गरेका छौँ । विद्यार्थीहरूसँग नियमित सम्पर्क भइराखेको छ, उनले भनिन् । विद्रोहीले उनीहरू रहेको क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएका कारण उद्धार गर्न कठिन भइरहेको समेत उनले बताइन् ।

गैरआवासीय नेपाली संघ, इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले समस्यामा परेका नेपालीलाई दूतावास र संघको सम्पर्कमा आउन आग्रह गरिएका बताए । संघले शनिबार एक सूचना जारी गर्दै इजरायली सरकारले जारी गरेको सुरक्षा सतर्कता अपनाउन अपिल गरेको छ । शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण सुरु गरेको हो ।

हमासको आक्रमणमा इजरायलतर्फ केही हताहतीसमेत भएको खबर सार्वजनिक भएका छन् । टाइम्स अफ इजरायलले हमासको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको जनाएको छ । सयौँ घाइतेमध्ये ७० जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । इजरायली स्वास्थ्य मन्त्रालयले प्यालेस्टिनी आक्रमणमा अहिलेसम्म ५४५ जना घाइते भएको जनाएको छ।

हमासका हतियारधारी व्यक्ति दक्षिणी इजरायलमा अचानक प्रवेश गरेर आक्रमण गरेको इजरायलको भनाइ छ । हमास नेता मोहम्मद डेफले शनिबार बिहान इजरायलतर्फ करिब ५ हजार रकेट आक्रमण गरेको बताएका छन् । हमास नेता डेफलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, अति भनेको अति नै हुन्छ भनेर हामीले आक्रमण सुरु गरेका हौँ । हमासले इजरायलविरुद्ध अपरेसन अल–अक्सा फ्लड सुरु भएको दाबी गरेको छ ।

हमासको आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले कडा प्रतिक्रिया दिएका छन् । इजरायली जनसमुदाय, हामी युद्धमा छौँ, अपरेसनमा होइन । हमासले शनिबार बिहानदेखि नै आश्चर्यजनक रूपमा इजरायली नागरिक र इजरायल राज्यविरुद्ध आक्रमण गरेको प्रधानमन्त्री नेतान्याहुले जनाएका छन् । ‘हाम्रा दुश्मनले उनीहरूले अहिलेसम्म थाहै नपाएको मूल्य चुकाउन पर्नेछ । म इजरायली सेना र होम कमान्डको निर्देशनलाई अनिवार्य रूपमा पालना गर्न निर्देशन दिन्छु । हामी युद्धमा छौँ र हामीले नै जित्नेछौँ ।

त्यस्तै प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले आफ्ना नागरिकलाई प्रतिरक्षाको अधिकार भएको बताएका छन् । रोयटर्स समाचार संस्थाका अनुसार राष्ट्रपति अब्बासले अतिक्रमणकारी सेनाुबाट आफूलाई रक्षा गर्ने अधिकारी प्यालेस्टिनी नागरिकलाई भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्