युद्धविराम सकिए लगत्तै गाजामा इजरेली हमला, कम्तीमा ३२ को मृत्यु, विपिनलाई छुटाउने प्रयास भएन

| २०८० मंसिर १५ गते १५: ०३ मा प्रकाशित

काठमाडौँ । इजरेल र गाजाबीच सात दिनको युद्धविराम भए पनि त्यो बेलासम्म नेपालका विपिन जोशीलाई छुटाउने गहन प्रयत्न नहुँदा उनी छुट्न सकेनन् । विभिन्न चरणमा अन्य देशका बन्धकलाई गाजाले छोडेको भए पनि विपिन छुट्न सकेनन् । उनको अवस्था कस्तो छ भन्नेसमेत थाहा हुन सकेको छैन । 

यता, युद्धविराम भङ्ग भएसँगै इजरेलले आक्रमणलाई तीव्र पारेको छ । तीन घण्टाभित्रै कम्तीमा ३२ जनाको ज्यान गइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । 

टाइम्स अफ इजरेलका अनुसार तीन घण्टामा ३२ जनाको ज्यान गएको छ जसमा महिला तथा बालबालिका पनि छन् । 


गाजापटी, दक्षिण रफाह, खान युनिस र माघाजी क्षेत्रमा उनीहरू मारिएका हुन् । 

 स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले सैन्य कारबाही पुनः शुरु गरेपछि इजरेली हवाई आक्रमणमा गाजा पट्टीमा कम्तिमा ९ जनाको मृत्यु भएको बताएका छन्।

 दक्षिणमा रफाहको एउटा घरमा भएको आक्रमणमा कम्तीमा ६ जना र खान युनिसमा एकजनाको मृत्यु भएको थियो ।

 पत्रकार हिन्द खौदरीले खान युनिसका अनुसार मध्य गाजाको माघाजी क्षेत्रमा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

इजरेलले खान युनिसका केही छिमेकका बासिन्दाहरूलाई यस क्षेत्रमा अपेक्षित आक्रमण हुनुअघि नै छोड्न आग्रह गरिरहेको छ।

 इजरेली सेनाले खान युनिसका मानिसहरूलाई रफाहमा खाली गर्न आग्रह गर्दै पर्चाहरू खसालिरहेका छन्  । र, उनीहरूले रफाहलाई पनि निशाना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्