फिलिपिन्स पहिरो अपडेटः मृतकको संख्या ९२ पुग्यो, हराएका ३६ जनाको खोजी जारी

| २०८० फागुन ४ गते ०६: ०३ मा प्रकाशित

काठमाडौं। दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तस्थित खानी शहरमा फेब्रुअरी ६ मा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

दाभाओ डे ओरोको प्रान्तीय सरकारले सामाजिक सञ्जालमा जनाएअनुसार उद्धारकर्ताहरूले हराइरहेका ३६ जना व्यक्तिहरूको खोजी गरिरहेका छन् ।

गृह तथा स्थानीय सरकार विभागकी लेह अनोराले दुर्घटना भएको नगरपालिका माकोमा पत्रकार सम्मेलनमा ३२ जना घाइते भएपनि जोगिएको बताउनु भएको छ ।

पहाडबाट खसेका ढुङ्गा, माटो र रुखले पुरिएका दुईवटा बसभित्र फसेका मृतक र बेपत्ता हुनेमा खानी कम्पनीका कामदार रहेका छन् ।

विश्व जोखिम सूचकाङ्क सन् २०२२ ले फिलिपिन्सलाई विश्वमा सबैभन्दा बढी प्रकोप हुने देशहरूको सूची अन्तर्गत पहिलो स्थानमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्