अर्घाखाँचीमा अक्सिजन प्लान्ट निर्माणको काम अन्तिम चरणमा

| २०७८ सावन २२ गते १५: ११ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। अर्घाखाँची अस्पताल परिसरमा निर्माण भइरहेको अक्सिजन प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको बजेटमार्फत निर्माण भइरहेको अक्सिजन प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको र केही दिनमै प्लान्ट संचालनमा आउने छ । 

गत असारमा कामको संझौता भएको र केही मेसीनहरु नआएकाले काममा ढिलाई भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कपिल गौतमले जानकारी दिए । प्लान्टको ‘वुस्टर’ मेसिन आउन ढिलाई भएकाले निर्माण सम्पन्न हुन समय लागेको हो । ‘वुस्टर मेसिन आएको थिएन, उनले भने,‘अहिले सामान आईपुगेको छ, प्राविधिकहरुले जडानकार्य सम्पन्न गरेपछी सञ्चालनमा आउने छ ।’ त्यसपछाडी अक्सिजनको समस्या नहुने उनले बताए ।

प्लान्टले दिनमा ७०वटा सिलिण्डर भर्ने क्षमता राख्छ । गत वैशाख /जेठमा कोरोनाको दोस्रो लहर चलिरहँदा अक्सिजन चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो। तेस्रो लहरमा भने जिल्लामा अब अक्सिन अभाव नहुने अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले बताए ।

प्लान्ट निर्माणका लागि संघीय सरकारले अर्घाखाँची अस्पताललाई एक करोड ५० लाख रकम विनियोजन गरेको थियो । प्रविधि इन्टरनेशनलले प्रतिस्पर्धामार्फत ८४ लाखमा प्लान्ट निर्माणको जिम्मा लिएको थियो । 

जिल्लामा शनिबारदेखि भएको निषेधाज्ञाको प्रभावले अर्घाखाँची जिल्ला सुनसानजस्तै भएको छ । जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि सर्वपक्षीयसहितको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लागु गर्ने निर्णय भएको थियो । 

निषेधाज्ञालाई थप कडाइ गर्न सन्धिखक, चुत्रावेसी बजार, जिल्लाका व्यस्त ठाउँहरुमा प्रहरी परिचालन गरिएको छ । निषेधाज्ञा लागु भएसँगै अत्यावश्यकका साधान बाहेक नीजि तथा सार्वजनिक सवारि साधन सञ्चालनमा रोक लगाईएको छ । जिल्ला बाहिरबाट अत्यावश्यक काम लागि आउनेहरुले जिल्ला प्रशासनसँग सहजिकरण गरेर मात्र प्रवेश गर्न पाईने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । 

दैनिक उपभोग्य वस्तु खाद्यान्न, तरकारी तथा फलफुल, दुध डेरी, मासु पसल, कृषिजन्य पसल विहान ६ बजेदेखि विहान ९ बजेसम्म मात्र खोल्न दिईएको छ । औषधि पसल, क्लिनिक, डेन्टल क्लिनिक २४ सै घण्टा खुल्नेछन् । निषेधाज्ञा अवधिभर बैंक तथा वित्तिय संस्था, सभा–सम्मेलन, गोष्ठि, भोज भतेर गर्न पाईने छैन भने लोक सेवा आयोग, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परिक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् लगायत निकायका पुर्वनिर्धारित परिक्षा भने सञ्चालन हुनेछन् । मानिसहरु पनि अति आवश्यक काम परे मात्र घर बाहिर निस्केका छन् । 

श्रावण ३० गते राति १२ बजेसम्म लागू गरिएको निषेधाज्ञाको समयमा कोहि कसैले पनि अटेरी गरे कडाभन्दा कडा कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मध्यरातदेखी लागु भएको निषेधाज्ञाको पूर्णरुपमा पालना गर्न र जिल्ला कोरोनाको अति उच्च जोखिममा रहेकाले नियमको पूर्ण पालना गर्दै स्वास्थ्य मापदण्ड अपनाउन कार्यालयले आग्रह गरेको छ ।

हाल सम्म जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३५ सय ८७ पुगेको छ ।कोरोना संक्रमण मुक्त हुनेको संख्या २८ सय२५ रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या ६ सय ८७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट जिल्लाको शितगंगा नगरपालिकामा १ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमण बाट जिल्लामा मृत्यु हुनेको संख्या ७५ रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । 

अर्घाखाँचीमा १८ वर्षभन्दा माथिका नागरिकहरु १ लाख १४ हजार ७ सय ५ जना रहेका छन् । ती मध्ये अहिलेसम्म ३६ हजार ७ सय १७ जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका खोप प्रमुख राधाराम आचार्यले बताए ।  

ती मध्ये कोभिशिल्ड पहिलो मात्रा १२ हजार ९ सय ३४ जनाले लगाए भने ३ हजार ८ सय ९ जनाले दोस्रो मात्रा लगाई सकेका छन् । कोभिशिल्ड पहिलो मात्रा लगाएका ९ हजार १ सय २५ जनाले ५ महिनादेखि दोस्रो मात्रा लगाउन पाएका छैनन् । 

यस्तै भेरोसेल १४ हजार ६ सय ३३ जनाले पहिलो मात्रा खोप लगाईसकेका छन् भने ३ हजार १ सय ३२ जनाले दोस्रो खोप पनि लगाएका छन् । ११ हजार ५ सय १ जनाले दोस्रो मात्राको खोप लगाउन बाँकी रहेको छ । यस्तै जोन्सन एण्ड जोन्सनको पहिलो मात्रा खोप ९ हजार ५ सय ५० जनाले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्