किन घट्यो अर्घाखाँचीको जनसंख्या ?

| २०७८ माघ १६ गते १९: २९ मा प्रकाशित

अर्घाखाँची बुलेटिन, सन्धिखर्क।राष्ट्रिय तथ्यांक विभागले गत बुधबार १२औं राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक ग¥यो। जसअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। जुन वि.सं. १९८७ को जनगणनापछिकै वार्षिक जनसंख्या वृद्धिदर न्यून हो। 

०६८ सालको जनगणनाको तथ्याङ्कअनुसार यसपटकको जनगणनामा नेपालीको जनसंख्या ३ करोड पुग्ने प्रक्षेपण गरिएको थियो। तर, प्रक्षेपण गरिएको जनसंख्या नपुगेको तथ्याङ्कले देखायो। सन्तान उत्पादनमा कमी आउनु तथा अन्तर्राष्ट्रिय बसाइँसराई बढ्दो क्रममा रहेकाले जनसंख्या कम देखिएको तथ्याङ्क विभागको भनाई छ। 

यसपटकको जनगणनामा ३२ जिल्लाको जनसंख्या ०६८ को भन्दा कम रहेको छ। जसमा अर्घाखाँची पनि एक हो। ०६८ को जनगणनामा यहाँको जनसंख्या १ लाख ९७ हजार ६३२ रहेकोमा यो पटकको जनगणनाबाट जनसंख्या घटेर १ लाख ७७ हजार २०० भएको छ। जसअनुसार पछिल्लो १० वर्षमा आएको जनसंख्या २० हजार ४ सय ३२ ले घटेको हो। यसरी जनसंख्या वृद्धिदरमा –१.५प्रतिशतले कमी आएको हो।

यसरी अर्घाखाँचीको जनसंख्या घट्नुको मुख्य कारण जन्मदरमा कमीसँगै बसाइँसराई मुख्य रहेको जानकारहरु बताउँछन्। अर्घाखाँची तराईका जिल्लाहरुसँग सीमान जोडिएको जिल्ला हो। त्यसैले यहाँबाट तराईमा बसाइँ सर्नेको संख्या अत्याधिक रहेको छ। राम्रो शिक्षा र स्वास्थ्यलगायतको खोजीमा यहाँका मानिसहरु विशेषगरी बसाइँ सर्ने गरेको छन्। जिल्लामा राम्रा शैक्षिक संस्थाहरु नहुँदा मानिसहरु आफ्ना सन्तानलाई पढाउनको लागि बुटवल, काठमाडौँलगायतका शहरमा बसाइँ सर्ने गरेका स्थानीयहरु बताउँछन्।

मानिसहरु बसाइँ सरेर शहर पस्ने क्रमम यहाँका केही गाउँहरु समेत रित्तो भएका केही उदाहरणहरु समेत छन्। उनीहरु सेवा र सुविधाको खोजीमा बसाइँ सर्ने गरेका छन्।

त्यस्तै यहाँका मानिसहरु रोजगारीको खोजीमा विदेश जाने र उतै घर बसाउने गर्नानाले पनि यहाँको जनसंख्यामा कमि आएको जानकाहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्