अर्घाखाँचीमा निर्वाचनको तयारी पूरा

| २०७९ मंसिर १ गते २१: ३६ मा प्रकाशित

प्रेमनारायाण ,सन्धिखर्क। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ।

एक प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा रहेको जिल्लामा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री प्याकिङ, सवारी साधनको व्यवस्था लगायतका काम पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ। 

निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी आवश्यक निर्वाचन सामग्रीसहित सम्बन्धित मतदानस्थल पठाइएको जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीले जानकारी दिए।

तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ स्थानीय तह रहेको जिल्लामा ९७ मतदानस्थल, २ सय २ मतदान केन्द्र र १ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन्। 

एकवटा अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कारागारमा रहेका कैदीबन्दीले मताधिकार प्रयोग गर्ने मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले जानकारी दिए। 

कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ।

निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कर्माचारी, नेपाल र म्यादी गरी दुई हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिने डीएसपी मुकुन्द रिजालले जनारी दिए। यस्तै १ हजार १८ जना कर्मचारी खटिने छन्।

अर्घाखाँचीका एक लाख ६४ हजार सात सय ७८ मतदाताले मतदान गर्ने  कार्यालयका सूचना अधिकारी रवि अर्यालले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्