अर्घाखाँचीमा कांग्रेसको नाराः ‘मान्छे बेच्न पाईदैंन, यस्ता सांसद चाहिंदैन’

| २०८० जेठ ५ गते १९: ४० मा प्रकाशित

प्रेमनारायण आचार्य
अर्घाखाँची ५ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अर्घाखाँचीबाट प्रतिनिधीत्व गर्ने सांसद टोपबहादुर रायमाझीको नाम मुछिएपछी नेपाली कांग्रेसका भातृसंस्थाहरुले  विरोधसभा गरेका छन् ।

नेपाली कांग्रेसका भातृसंस्था नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ लगायतले अर्घाखाँचीकाे सन्धिखर्कमा भ्रष्टाचार विरुद्ध विरोधसभा गरेका हुन् ।

‘मान्छे बेच्न पाईदैंन, यस्ता सांसद चाहिंदैन’ ‘ठुला माछा छोपिदेउ, जेलभित्र कोचिदेउ’ ‘अर्घाखाँचीको बदनाम गर्न कसैलाई छुट छैन’ जस्ता प्ले कार्ड बोकेर उनीहरुले सन्धिखर्क बजार परिक्रमा गरेका हुन् ।

बजार परिक्रमा पछी शान्ती बगैंचामा भएको विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री बिष्णु मुस्कानले जिल्लाको सांसद मान्छे बेच्ने जस्तो अपराधिक कार्यमा संलग्न रहेको भन्दै जिल्लाको शिर झुकेको बताउनु भयो । सांसदले कुन दलको प्रतिनिधीत्व गर्छ भन्ने गौंण कुरा भएको भन्दै उहाँले समग्र जिल्लाको बेईजत भएको बताउनु भयो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य बिष्णु पोख्रेलले भ्रष्टाचारीको कुनै पार्टी, धर्म र आस्था नहुने भन्दै जो सुकै भएपनि कारवाही गर्नुपर्ने बताउनु भयो । आफ्नो र अरुको भन्ने बहानामा कसैले उन्मुक्ती पाउन नहुने उहाँको भनाई छ ।

जिल्ला सभापती केशव श्रेष्ठ, प्रदेश सदस्य शान्ता भण्डारी, महिला संघकी जानका बञ्जाडे, तरुणदल अध्यक्ष नारायण खड्का, नेविसंघ नेता कृष्ण भुसाल लगायतले मन्तव्य राख्दै भ्रष्टाचारमा दोषी ठहर भए कांग्रेस कसैलाई जोगाउने पक्षमा नरहेको बताएका छन् ।

उपप्रधानमन्त्री समेत भईसकेका व्यक्तीको नाम किर्ते काम र भ्रष्टाचारमा मुछिनु दुखद भएको भन्दै उनिहरुले यो अर्घाखाँचीका जनताको विश्वास माथी ठुलो बेईमानी भएको बताए । चार–चार पटक जिल्लाले जिताएर पठाएका सांसदले अमानविय कार्य गरेको उनीहरुको ठहर छ ।

रायमाझी पक्राउ पुर्जी जारी भएपछी फरार थिए । फरार भएको एघार दिनपछी उनलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको थियो । उनिमाथी थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्