संविधान दिवस अर्घाखाँची मा विभिन्न कार्यक्रम गरि मनाईयाे

| २०८० असोज ३ गते १३: २३ मा प्रकाशित

पुजा कुँवर ,सन्धिखर्क। नेपालको संविधान-२०७२ जारी भएको आज ८ वर्ष पूरा भएको छ । २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो । सोही असोज ३ लाई प्रत्येक वर्ष संविधान दिवस मनाइने गरिन्छ । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइदै छ । 

अर्घाखाँची जिल्लामा संविधान दिवसको अवसरमा हिजो मंगलबार मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको थियो । जसको उपाधि पत्रकारले पाएका छन् । 

यस्तै आज संविधान दिवसका दिन बिहान प्रभातफेरि कार्यक्रम भयो । जिल्लामा रहेका राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, राजनैतिक दल, पत्रकार लगायत स्थानीयहरुले बजार परिक्रमा गरेका थिए ।  

प्रभातफेरि पछि भएको मूल समारोह समितिको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख जिवनारायण कोइरालाले संविधानमा भएका व्यवस्थाको सबैले पालना गर्नुपर्ने बताएका छन् । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहित समाजवाद स्थापना गर्ने लक्ष्य लिएको यो संविधानको सबै निकायले कार्यान्वयन गर्नुपर्ने बताए । 

देशको मुल कानुन संविधान हो । संविधान भन्दा ठुलो कानुन देशमा कुनै हुँदैन  । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले सबै नागरिक संविधान भन्दा तल रहेर काम गर्नुपर्ने बताए । संविधानमा नागरिकका मौलिक हक उल्लेख गरिएकोले संविधानलाई सबैले मान्न आग्रह गरे । 

 संविधान दिवस 

यस्तै नेपाली कांग्रेसका जिल्ला कार्य समिति सचिव कृष्ण खनालले नेपालको संविधान विश्वकै सबैभन्दा  सुन्दर भएको बताउँदै संविधानको पालना गर्नुपर्ने सबै नागरिकको कर्तव्य भएको बताए । लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, स्वतन्त्रता र मानव अधिकार तथा समावेसी र समानतामा आधारित नेपाली समाजको विकासलाई संविधानको मूलभूत मान्यताका रुपमा प्रत्याभूत गरिएकाले नेपालको विद्यमान संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको उनको भनाइ छ ।  

देशमा अहिले भ्रष्टाचार, अनियमितताका घटनाहरु दिनहुँ बढिरहेका छन् । संविधान जारी गर्न जनताले धेरै संघर्ष गरे फलस्वरूप जनताको अवस्था संविधान जारी भएको यति लामो समय हुँदासम्म पनि उस्तै दयनीय रहेको नेकपा (एमाले) अर्घाखाँचीका उपाध्यक्ष ईश्वरा पोख्रेलले बताइन् । जनताको हक हितमा राज्यको चासो हुनुपर्ने उनको माग छ । 

मुल समारोहमा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य रामलाल पराजुली, नेकपा (एकीकृत समाजवादीका अध्यक्ष राम बहादुर चौहान, राष्ट्रिय जनमोर्चाका कोषाध्यक्ष गोविन्द बि.सि, पत्रकार महासंघ लुम्बिनीका सदस्य प्रेम नारायण आचार्य, नेपाल बार एसोसिएसनका अध्यक्ष के.बी भुसालले संविधानलाई दिगो बनाउन राजनीतिक दलहरुको भूमिका निकै महत्पूर्ण हुने तर दलहरु यसतर्फ उदासिन रहेका बताएका थिए । उनिहरुले पछिल्लो समय राजनैतिक स्वार्थका लागि संविधानको गलत ब्याख्या भइरहेको पनि बताए । 

हुन त संविधान सर्वस्वीकार्य पनि हुन सकेको छैन् । संविधान सभाका  ९० प्रतिशत सांसदले हस्ताक्षर गरेर जारी भएको संविधान प्रति देशका केही समूहले अझै असन्तुष्टि जनाइरहेका छन् ।  मधेसकेन्द्रित दलहरू संविधान जारी भएको दिनलाई जनताको अधिकार खोसिएको दिनका रुपमा मनाउन विरोधमा उत्रिने गरेका छन् । मधेस केन्द्रित दलहरु संविधान जारी भएको दिन २०७२ असोज ३ देखि नै विरोधमा उत्रिएका थिए । 

यस्तै राजेन्द्र लेनदेन नेतृत्वको राप्रपाले पनि संविधान प्रति असन्तुष्टि जनाउँदै आइरहेको छ । राप्रपा पनि यो संविधानलाई प्रयोग गरेर संशोधनमा जान चाहन्छ । संविधानलाई सर्वस्वीकार्य बनाउन असन्तुष्ट पक्षहरुको माग संविधान संसोधन मार्फत संवोधन हुनु पर्नेमा राप्रपाको जोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्