किर्तेवालाको अविलम्व खोजी गर्न रास्वपा अर्घाखाँचीको चुनौती

| २०८० चैत ९ गते २१: ३७ मा प्रकाशित

सागर मरासिनी, सन्धिखर्क । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले भूमिकास्थान नगरपालिकामा देखिएको कागजात किर्ते घटनाको सत्यतथ्य छानविन गर्न जोडदार माग गरेको छ ।

जिल्ला संयोजक हरिप्रसाद भुसालले एक प्रेस विज्ञप्ती जारी गर्दै किर्तेवाला खोजी गर्न आग्रह गरेका हुन् । किर्तेको खोजीमा पालिका अग्रसर नभए पालिकाबाटै किर्ते भएको बुझ्न बाध्य हुने रास्वपाको ठहर छ । जिल्ला संयोजक हरिप्रसाद भुसालले जारी गरेको विज्ञप्तीमा भनिएको छ “किर्ते कागज तयार पार्ने कार्यमा संलग्न रहेकाहरुको पहिचान तथा दण्डको सम्वन्धमा पालिकाले सक्रियता नदेखाउनुले थप शंसय उत्पन्न गरेको छ ।”

रास्वपाले किर्ते घटनाले अर्घाखाँची जिल्लाकै वदनाम भएको भन्दै आफुहरुको शिर निहुरिएको उल्लेख गरेको छ । विज्ञप्तीमा थप भनिएको छ “जिल्लाकै बद्नाम हुनेगरी, समग्र पालिकावासीको चरित्र हत्या हुनेगरी भएको उक्त अपराधको घटनाले समग्र हामी जिल्लावासीहरुको शिर निहुरिएको छ ।”

विज्ञप्तीमा उल्लेख भएका कुराहरु जस्ताको तस्तै ः

उक्त सम्वन्धमा,भूमिकास्थान नगरपालिका वडा नं. ९ सान्डेभामा रहेको चुनढुंगा उत्खननको सन्दर्भमा खानी तथा भुगर्भ विभागलाई भूमिकास्थान नगरपालिकाले पठाएको भनिएको प.सं. ०८०/०८१, च.नं. च.नं. ५८५ को पत्र किर्ते रहेको घटनाले हामीलाई गम्भिर बनाएको छ ।

नेपालको मुलुकी ऐन बमोजिम सरकारी छाप, लेटरप्याड तथा हस्ताक्षर दुरुपयोग दण्डनिय रहेको भनि व्यवस्था गरेको भएपनि उक्त किर्ते कागज तयार पार्ने कार्यमा संलग्न रहेकाहरुको पहिचान तथा दण्डको सम्वन्धमा पालिकाले सक्रियता नदेखाउनुले थप शंसय उत्पन्न गरेको छ । उक्त कार्यमा संलग्नको पहिचान गरी अविलम्व कारवाहीको लागि जोडदार माग गर्दछौं ।

जिल्लाकै बद्नाम हुनेगरी, समग्र पालिकावासीको चरित्र हत्या हुनेगरी भएको उक्त अपराधको घटनाले समग्र हामी जिल्लावासीहरुको शिर निहुरिएको छ । उक्त घटनाका दोशी पहिचानको गरी कारवाहीको लागि अविलम्व पहल लिन आग्रह गर्दै अपराधी पहिचानको लागि भएको पालिकाको ढिलासुस्तीले यो किर्ते घटनामा पालिकाकै संस्थागत हात रहेको त छैन भन्ने आशंका गर्ने ठाउँ दिएकोले अविलम्व दोशी पहिचान गरी सार्वजनिक गर्न जोडदार माग गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्