टोपबहादुरको अभावमा अर्घाखाँचीको विकास अलपत्र, निर्माणाधीन संरचनाहरू जीर्ण बन्दै

| २०८० चैत १८ गते १६: ४७ मा प्रकाशित

ज्योति जीसी, काठमाडौं । सशस्त्र द्वन्द्व र २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनअघिको समयलाई छोड्ने हो भने पछिल्लो करिब दुई दशकको समय अर्घाखाँची र टोपबहादुर रायमाझी पर्यायवाची शब्दजस्तो बनेका छन् । शान्तिप्रक्रिया र ०६२/६३ को आन्दोलनपछि भएको पहिलो संविधान सभा निर्वाचनदेखि पछिल्लो समय २०७९ सालमा भएको आम निर्वाचनसम्म अर्घाखाँचीको नेतृत्व उनैले गर्दै आएका छन् ।

तत्कालीन नेकपा मसालबाट राजनीतिक यात्रा सुरू गरेका टोपबहादुर अखिल छैठौँको केन्द्रीय अध्यक्ष, नेकपा माओवादी केन्द्रको पदाधिकारी हुँदै पछिल्लो समय नेकपा एमालेको केन्द्रीय कमिटी सचिव थिए भने अहिले निलम्बनमा छन् । लोकतन्त्र प्राप्तीपछि भएका दुई वटा संविधान सभा र दुई वटा आम निर्वाचनमा एकलौटी जित हासिल गरेका उनी एक पटक उपप्रधानसहित तीन पटक मन्त्री बनिसकेका छन् । यसक्रममा उनले भौतिक योजना तथा निर्माण मन्त्रालय, स्थानीय विकास मन्त्रालय, शान्ति तथा पुनर्निमाण र ऊर्जा तथा जलस्रोत मन्त्रालय (दुई पटक) को जिम्मेवारी सम्होलेका छन् ।

अनवरत रूपमा निर्वाचन जित्नु र पटक–पटक सत्ताको जिम्मेवारीहरूमा पुग्नु स्वयम् रायमाझीका लागि खुसीको कुरा हो भने उनका मतदाता र आम अर्घाखाँचीवासीका लागि फाइदा र आशाको विषय पनि हो । फलस्वरूप उनले अर्घाखाँचीवासीको त्यो आशालाई मर्न नदिन जिल्लाको यातायात, शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा दीर्घकालीन महत्वका विभिन्न योजना र परियोजनाहरू अघि बढाएका छन् । जसले दीर्घकालमा अर्घाखाँचीवासीलाई भरपूर लाभ दिँदै समृद्ध बनाउने विश्वास समेत गरिएको छ ।

उनले अघि बढाएका सालझण्डी–ढोरपाटन सडक योजना (१९६ किमि), अर्घा भगवती विमानस्थल र नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजना अर्घाखाँचीको मुहार फेर्नका लागि कोसेढुङ्गा सावित हुने प्रोजेक्टहरू हुन् । यसका साथै अर्घाखाँची जिल्ला अस्पतालको स्तरोन्नति गरी ५५ शैय्याको बनाउने, शैक्षिक गुणस्तर वृद्धि गरी जिल्लामै सीपयुक्त जनशक्ति उत्पादन गर्ने, रोजगारी सृजनाका लागि ठूला कृषि फार्महरू सञ्चालन गर्ने तथा उत्कृष्ट सञ्चार सुविधाका लागि जिल्लामा फोरजी सेवा सुरू गर्नेलगायत जनजीविकामा प्रत्यक्ष सरोकार राख्ने विकासका कैयन योजनाहरू पनि उनले अघि बढाएका छन् ।

तर, टोपबहादुर रायमाझीले सुरू गरेका सबै खालका विकासका योजनाहरू पछिल्लो एक वर्षयता अलपत्रप्रायः छन् । किनभने ती विकासका योजनाहरूको मास्टर प्लानर रायमाझी जेल परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूले नाम लिएको आधारमा बिनाउजुरी नै उनलाई राज्यले गत वैशाख ३१ गते पक्राउ गरी हाल पुर्पक्षका लागि थुनामा राखेको छ । रायमाझी जेल परेपछि आवश्यक समन्वय अभावमा चालू आर्थिक वर्षमा अर्घाखाँचीका विकास आयोजनाहरूले पर्याप्त बजेट पाउन सकेनन् । टोपबहादुर थुनामा रहेका कारण आगामी आर्थिक वर्षमा समेत बजेट नपाउने देखेपछि अर्घाखाँचीवासीहरू चिन्तित छन् ।

अर्घाखाँचीले टोपबहार रायमाझीको अलावा दुई जना प्रदेश सभा सदस्य र एक जना समानुपातिक गरी अन्य तीन जनालाई पनि जनप्रतिनिधि निर्वाचित गरेको छ, तर रायमाझीले गर्नेझैं काम उनीहरूबाट हुन नसकेको स्थानीयहरू बताउँछन् । अर्घाखाँचीबाट प्रतिनिधि सभाको समानुपातिकमा बिजुला रायमाझी तथा प्रदेश सभा (क) मा चेतनारायण आचार्य र (ख) मा रामजी प्रसाद घिमिरे एमालेबाटै निर्वाचित छन् । तर, उनीहरू समेत रायमाझीको अभावमा ‘रानो बिनाको मौरी’झैँ भएको पाणिनी गाउँपालिका–६ का भविन्द्र घिमिरे बताउँछन् ।

अलपत्र छन् विकास निर्माण, जीर्ण बन्दै निर्माणाधीन संरचनाहरू

टोपबहादुर रायमाझी अर्घाखाँचीमा सबैका प्रिय नेता हुन् । जसले उनलाई गलत सम्झन्थे उनीहरू समेत अहिले रायमाझी राम्रो नेता भएको बताउन थालेका छन् । खासगरी विपक्षी पार्टीका नेताहरूले रायमाझीविरुद्ध भाषणवाजी गर्दा अर्घाखाँचीमा आएको बजेट ‘राज्यको भएको र राज्यले नै पठाएको’ भनेर टिप्पणी गर्दै आएका थिए । तर, चालू आर्थिक वर्षमा न्यून बजेट पाएपछि उनीहरू समेत रायमाझीसँग कन्भिन्स हुन थालेको भूमिकास्थान नगरपालिका–१० का गिरिश पन्थीले बताए ।

बजेट अभावमा विकास निर्माण ढिलाई हुँदा कतिपय संरचना जीर्ण बन्न थालेको तथा राज्यको सम्पत्ति नोक्सान हुने अवस्थामा पुगेको उनी बताउँछन् । उनका अनुसार यसअघि द्रुत गतिमा काम भइरहेको रूपन्देही, अर्घाखाँची, गुल्मी र बागलुङको ढोरपाटनसम्म पुग्ने १९६ किमि सडक आयोजना पनि अहिले बजेट अभावमा सुस्ताएको छ । यस्तै, टोपबहादुर रायमाझीले २०७४ को निर्वाचनताका शिलान्यास गरेको अर्घा भगवती विमानस्थलको धावनमार्गबाहेकका काम पनि हुन सकेको छैन । ‘रन–वेको काम सकिए पनि अन्य थुप्रै संरचना बनाउन बाँकी छ । बजेट अभावकै कारण ती कामहरू अघि बढ्न सकेका छैनन्,’ पन्थीले भने ।

यसैगरी, २८१ मेगावाट विद्युत् निकाल्ने लक्ष्य लिइएको नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको डीपीआर बनेर पनि काम अघि बढ्न सकेको छैन । नेपाल सरकार स्वयम्ले निर्माण गर्ने भनिएको सो आयोजनामा रायमाझी ऊर्जामन्त्री भएको बेला ३६ करोड रूपैयाँ बजेट छुट्याउन सफल भए पनि थप बजेट नहुँदा काम हुन नसकिरहेको पन्थीले बताए । उनका अनुसार यो आयोजनाबाट कपिलवस्तुदेखि दाङसम्म सुरुङमार्फत सिंचाइ पुर्‍याउने योजना समेत छ । तर, जनजीवीकासँग प्रत्यक्ष सरोकार राख्ने यस्ता आयोजना बजेटकै अभावमा अहिले अलपत्र अवस्थामा छ । विकासमा यस्ता धेरै आयोजनामा बजेट नुहँदा काम हुन नसकिरहेको र विकासका दृष्टिले जिल्ला नै पछि पर्ने अवस्था आएको उनको भनाइ छ ।

यसैगरी, रायमाझीकै नेतृत्व र पहलकदमीमा जिल्लाभरका २५० वटा विद्यालय भवनको स्तरोन्नति गरिएको छ भने शैक्षिक गुणस्तर बढाउने योजना पनि ल्याएका थिए । तर, कार्यान्वयन गर्न सकिएको छैन । त्यस्तै, उनले अर्घाखाँची जिल्ला अस्पताल । ५५ शैय्याको बनाउनेगरी बजेट विनियोजन गरेका थिए । जस अनुसार कोभिडको समयमा अक्सिजन प्लानहरू पनि निर्माण भएका छन् । तर, अहिले बजेट अभावमा थप काम हुन सकेको छैन ।

रोजगारी सृजनाका सवालमा पनि रायमाझीले राम्रो कदम चालेका थिए । जिल्लामा युवाहरू विदेश पलायन नहोउन् भनेर उनले रोजगारी सृजनाका थुप्रै योजनाहरू अर्घाखाँची भित्र्याएका छन् । त्यस अनुसार कृषि प्राविधिक क्याम्पस स्थापना गरिएको छ । रायमाझीको मास्टरप्लान अनुसार त्यहाँ अध्ययन गर्नेहरूले जिल्लामै प्रयोगात्मक र प्राविधिक परीक्षण गराउन सकियोस् भनेर कृषि मन्त्रालयबाट विभिन्न प्रोजेक्ट अर्घाखाँचीमा सञ्चालन गर्ने तयारी थियो । चिया खेती, कुन–कुन् बालीमा जङ्गली जनावरबाट क्षति कम हुन्छ त्यही बालीमा किसानलाई प्रोत्साहित गर्नेलगायत योजना पनि अघि सारिएको थियो । ती सबै बजेटकै अभावमा अलपत्र रहेको सन्धीखर्क नगरपालिका–१ का प्रदीप मिश्रले बताए ।

अधिकतम रोजगारी सृजनाबाट अर्घाखाँचीका युवाहरू विदेश पलायन हुनबाट रोक्न सकिने भए पनि त्यस्ता योजनाहरू अघि बढाउन नसकिएको उनको भनाइ छ । ‘अहिले जिल्ला नै युवाविहीन हुने अवस्था सृजना भएको छ । उहाँ (रायमाझी) नभएपछि आफ्नो छोरा नै घरमा नभएको अनुभूति हामीलाई भइरहेको छ । उहाँ जेल पर्दा आफ्नै छोरा जेल परेजस्तो लागिरहेको छ,’ मिश्रले भावुक हुँदै भने । यस्तै, उनले जिल्लालाई सञ्चारको दुनियाँसँग जोड्दै अर्घाखाँचीमा फोरजी सेवा विस्तार गर्ने लक्ष्य लिएका थिए । जिल्लाका हरेक ठाउँमा नेपाल टेलिकमको टावर निर्माण गरी इन्टरनेटको पहुँच पुर्‍याउनका लागि आवश्यक पहल रोकिएको पनि मिश्रले बताए ।

अदालत र जेल घेर्ने तयारी !

रायमाझी जेलमा रहँदा पनि उनलाई भेट्न अर्घाखाँचीबाटै दैनिक सयौँ मानिसहरू काठमाडौं आउने गरेका छन् । भुटानी शरणार्थी प्रकरणमा कहीँकतै नजोडिएको तथा बिनाप्रमाण नै पुर्पक्षमा राखिएको भन्दै उनीहरू व्यापक असन्तुष्टि व्यक्त गर्दै आएका छन् । जसले रायमाझीको नाम लिए त्यो व्यक्ति जेलबाहिर र कुनै प्रमाण नभेटिएका नेता रायमाझी जेलभित्र हुनुलाई राज्यशक्तिको दुरूपयोग भएको उनीहरूको बुझाइ छ । रायमाझीमाथि भइरहेको अन्याय सिंगो अर्घाखाँचीवासीमाथि अन्याय र अपमान भएको उनीहरू बताउँछन् ।

राजनीतिक दल विशेषका व्यक्तिहरू मात्र होइन, उनका मतदाता, गैरमतदाता र विकास चाहानेहरूले उनलाई जेलमै पुगेर भेट गरिरहेका छन् । आफूहरूले अर्घाखाँचीमा रायमाझीको अभावको स्पष्ट महसुस गरेको र उनलाई निकाल्न जस्तोसुकै कदम चाल्न तयार हुने पनि उनीहरूले बताएका छन् । ‘जसले अर्घाखाँचीको विकासमा महत्वपूर्ण योगदान दिँदै द्रुत गतिमा काम गरिरहेको थियो । उसलाई अनाहकमा कस्टडीमा राख्दा उहाँको मात्र होइन सिङ्गो मतदाता र अर्घाखाँचीवासीको मानहानी भएको छ,’ शीतगंगा नगरपालिका–९ का भीम केसीले भने, ‘अब पनि नछोड्ने हो भने अदालत र जेल घेर्न अर्घाखाँचीबाट जनता उर्लिनेवाला छन् ।’

रायमाझीलाई भेट्न अर्घाखाँचीदेखि काठमाडौंस्थित जेलसम्म आएका स्थानीयहरू राज्यप्रति आक्रोशित भइरहेको र उनीहरूको आक्रोश आफूहरूले मत्थर पार्दै आएको रायमाझी निकटकाहरू बताउँछन् । ‘उहाँहरू जो आए पनि यत्तिकै थुनिएको छ तपाइँहरू केही बोल्नुहुन्छ भन्दै हामीलाई नै गाही गरेर जानुहुन्छ,’ निकटस्थ एक नेताले भने, ‘हामीले कानुनी राज्यको पालना गर्नुपर्छ र त्यस्तो गलत हर्कत गर्न हुन्न भनेर रोक्दै आएका छौँ ।’

सङ्घीय निर्वाचनको एउटा र प्रदेश सभाको दुई वटा क्षेत्र रहेको अर्घाखाँचीमा तीन वटा नगरपालिका र तीन वटा गाउँपालिका छन् । २०७९ सालमा भएको आम निर्वाचनको तथ्याङ्क अनुसार एक लाख ५३ हजार मतदाता छन् । सो निर्वाचनमा एमालेको समानुपातिक भन्दा १८ हजार मत बढी पाएर रायमाझी निर्वाचित भएका थिए । यसबाट उनी सबैका लोकप्रिय नेताका रूपमा रहेको प्रष्ट हुन्छ । राष्ट्रिय राजनीतिमा समेत महत्वपूर्ण व्यक्तिका रूपमा उनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्