ज्वरो आउनुअघि छालामा देखिन सक्छ कोभिड–१९ का लक्षण

| २०७८ भदौ १२ गते ०५: १५ मा प्रकाशित

चीनको वुहानबाट ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरस फैलन सुरु भयो। यसबारे विश्व स्वास्थ्य संगठनमा रिपोर्ट गरिएपछि कोभिड–१९ लाई ११ मार्च २०२० मा महामारी घोषणा गरियो।

कोभिड–१९ का लक्षणहरु मुलतः ज्वरो आउने, जिउ दुख्ने, स्वासप्रश्वासमा समस्या हुने, लगातार दिशा लाग्ने हुन्छ। फोक्सो र शरीरका अन्य अंगहरु निस्क्रिय पार्छ। त्यसै गरी छालामा पनि विभिन्न लक्षण देखिने वैज्ञानिक अनुसन्धानहरुबाट पत्ता लागेको छ।

कतिपयलाई कोभिडको लक्षण पहिला छालामा देखिन्छ। ज्वरो आउने, जिउ दुख्नेजस्ता लक्षण देखिनु दुई दिनअघि नै छालामा रातो डाबर आउँछ। स्पेनमा गरिएको एक अध्ययनमा अन्य लक्षण देखिनुअघि नै १९ प्रतिशतलाई छालामा डाबर आएको पाइएको छ।

यस्तो अवस्थामा डाबर आएका व्यक्तिलाई सुरुमै ‘आइसोलेसन’मा राखे परिवारका अन्य सदस्यलगायतलाई सर्नबाट रोक्न सकिन्छ। ती व्यक्तिलाई सुरुमै कोविड–१९ जाँच गरेर अस्पताल वा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्न सकिन्छ।

कतिपयलाई भने कोभिड–१९ लक्षण देखिएको तीन दिनपछि पनि छालामा डाबर देखिने गरेको अनुसन्धानहरुले देखाएका छन्। दादुराजस्तो देखिने यस्ता डाबर ४७ प्रतिशत संक्रमितलाई आउने गरेको पत्ता लागेको छ। त्यस्तै ठेउला जस्तो देखिने पानीफोका कोभिड–१९ को लक्षण देखिएको तीन दिनपछि शरीरमा देखिन्छ। यी पानीफोका एक हप्ताभित्र कुनै दाग नछोडी आफैँ ठीक भएर जान्छ। 

छालामा अरु गम्भीर समस्या पनि आउन सक्छ। जस्तो, हात–खुट्टाका औँलाहरु रातो हुने, सुन्निने, पानीफोका र पिपका फोका आउने पनि हुन्छ। यी लक्षण विशेषगरी जवानहरुलाई हुन्छ। वृद्धवृद्धामा कमै मात्र देखिएको छ। यी लक्षण अरु लक्षणभन्दा धेरै दिनसम्म रहन्छ। औषतमा १२ दिनसम्म रहने अध्ययनहरुले देखाएको छ। हात–खुट्टामा लक्षण देखिएका कोभिड–१९ संक्रमितलाई फोक्सोमा संक्रमण कम हुने पाइएको छ। उनीहरुको मृत्युदर पनि कम छ।

स्पेनमै गरिएको एक अध्ययन अनुसार ६ प्रतिशतमा जालीजस्तो देखिने नीलो रङका डाबर पनि देखिएका छन्। ती डाबर रगतका नलीहरुमा रगत जमेर आउँछन्। यस्ता डाबर खुट्टा र हातमा देखिए बिरामीलाई  गम्भीर संक्रमण हुने, फोक्सोको संक्रमण पनि गम्भीर हुने र सघन उपचार चाहिने हुन्छ। हाम्रो जस्तोसीमित साधन भएको ठाउँमा बिरामीले छालका लक्षणहरुको समयमा नै पहिचान गरी सघन उपचार गरे ज्यान बचाउन सकिन्छ।

नेपालमा करिब सात लाख ५३ हजार संक्रमित फेला परिसकेका छन्। तर, कति प्रतिशतलाई छालामा लक्षण देखियो र कस्ता प्रकारका लक्षण देखियो भन्ने वैज्ञानिक अनुसन्धान भएको छैन। त्यसैले कोभिड–१९ संक्रमणको लक्षणबारे हामीसँग वास्तविक तथ्यांक छैन। 

छिमेकी मुलुक भारतमा गरिएको अध्ययनमा स्पेनकै अध्ययनसँग मिल्ने छालाका लक्षण देखिएका छन्। कतिपय भारतीय संक्रमितलाई छालमा रातो डाबर, दादुरा जस्तो देखिने डाबर र जनै खटिरा जस्तो देखिने पानीफोका आएको पाइएको छ। नेपाली र भारतीयहरुको छालाको प्रकार एउटै हुन्छ। पूरै शरीरको बनोट पनि लगभग मिल्छ। त्यसैले नेपालमा पनि संक्रमितलाई उस्तै लक्षण देखिन सक्छ। यसको अनुसन्धान हुन जरुरी छ।

धेरैजसो डाबर आफैँ निको भएर जान्छ। कतिपय अवस्थामा औषधि पनि गर्नुपर्ने हुनसक्छ। यस्ता डाबरलाई चिसोले असर गर्छ। त्यसैले नचिलाउने औषधि खाने, चिकित्सकको सल्लाहमा लोसनहरु लगाउने गर्नुपर्छ। 

छालामा आउने डाबर समयमै पहिचान गर्दा कोभिड संक्रमितको उपचार सहजै गर्न सकिन्छ। नीलो जालीजस्तो डाबर आएका संक्रमितलाई बेलैमा सघन उपचार गर्न सकिन्छ। यसबाट कोभिड–१९ को थप संक्रमण फैलिनबाट पनि रोक्न सकिन्छ। त्यसैले छालामा देखिने लक्षणबारे अध्ययन हुनु अति आवश्यक छ।

सर्वसाधारणले पनि आफ्नो छालामा अनावश्यक डाबर आए त्यसलाई बेवास्ता गर्नु हुँदैन। तुरुन्तै आइसोलेसनमा बस्ने र चिकित्सकसँग सल्लाह लिने गर्नुपर्छ। यसो हुँदा रोगको चाँडै निदान हुनसक्छ।

–लेखक रगत तथा बहु विशेषता अस्पतालका छाला, यौन तथा कुष्ठ  रोग विशेषज्ञ हुन्।

प्रतिक्रिया दिनुहोस्