चाडपर्वमा महिनावारी रोक्ने औषधि : केही हानि गर्छ ?

| २०७९ भदौ २७ गते २३: १८ मा प्रकाशित

काठमाडौं । सोह्र श्राद्ध सुरु भएपछि रुपा थापाले महिनावारी पर सार्ने औषधि खाइरहेकी छिन् । उनी भन्छिन्, ‘दुई दिनपछि ससुराको श्राद्ध गर्नुछ । एक्ली बुहारी भएकाले सबै काम आफैं गर्नुपर्छ । यस्तो बेला महिनावारी भयो भने श्राद्धको काम गर्न मिल्दैन ।’

महिनावारी भएको बखत ‘छुवाछुत’ गर्नु हुँदैन भनी धारणा राख्ने रुपा एक्ली होइनन् । उनीजस्तै चावहिलकी विमला सापकोटाले पनि केही दिनअघि महिनावारी पर सार्ने औषधि खाइन् । घरको सबै परिवार दोलखाको भीमसेन मन्दिर जाने भएपछि आमाको सल्लाहमा विमलाले औषधि खाएकी थिइन् ।

‘मन्दिर जाने दिन र महिनावारी हुने समय लगभग एकै अवधिमा परेकाले औषधि खाएँ,’ उनी सुनाउँछिन्, ‘औषधिले गर्दा महिनावारी त  भएन । तर जीउ दुख्ने, कमजोरी महसुस हुने, दिक्क लाग्ने भइरह्यो ।’

चाडपर्वको याम सुरु हुँदैछ । दशैं, तिहारजस्ता पर्व हुन् वा घरपरिवारमा हुने धार्मिक कार्य, ‘चोखो बस्नुपर्छ’ भन्ने पुरातन धारणा छ । यही धारणालाई शिरोपर गर्दै कतिपय महिलाले महिनावारी पर धकेल्ने औषधि खाने गरेका छन् ।

त्यसो त चाडपर्व वा पारिवारिक जमघटका बेला महिलाले भात–भान्साको काम सम्हाल्नुपर्ने बाध्यता हुन्छ, खासगरी नेपाली समाजमा । अतः यतिबेला चोखो बस्नका साथै महिनावारीको पीडाबाट मुक्त हुन कतिपय औषधि खाने गर्छन्, जसले महिनावारीलाई केही अवधिका लागि पर धकेल्छ ।

सामान्य दिनमा भन्दा पनि चाडपर्वको समयमा महिनावारी रोक्ने औषधि बढी खपत हुने रेवतीरमण पोलिक्लिनिककी कुसुम गुरुङ बताउँछिन् । ‘सोह्र श्राद्ध सुरु भएसँगै धेरै महिला यस्तो औषधि किन्न आउँछन्,’ गुरुङ भन्छिन्, ‘दशैं तिहार आउनुअघि यसको बिक्री अझै बढ्छ ।’

जथाभावी यस्तो औषधि किनेर मनोमानी ढंगले खानु हानिकारक हुनसक्ने उनी बताउँछिन् । ‘सकेसम्म चिकित्सकको परामर्श लिएर मात्र खानु भन्छौं,’ उनी भन्छिन् । सहरमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि अहिले महिनावारी पर सार्ने औषधि खाने क्रम बढेको उनी सुनाउँछिन् ।

के चाडपर्व र कुनै विशेष काममा यस्ता महिनावारी पर सार्ने औषधि प्रयोग गर्न कत्तिको उचित हो ? यसले शरीरमा कुनै हानि गर्छ ?

‘महिनावारी प्राकृतिक प्रक्रिया भएको हुँदा सकेसम्म नखाएको राम्रो,’ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. दीपा चुडाल भन्छिन्, ‘कहिलेकाहीं खानैपर्ने बाध्यता हुनसक्छ । यस्तो अवस्थामा खाँदा त्यस्तो कुनै हानि गर्दैन । तर नियमित खानु राम्रो होइन ।’

के हुन्छ हानि ?

महिनावारी पर सार्ने औषधिले खासगरी महिलाको हर्मोनलाई असन्तुलित बनाउन सक्छ । यसैको कारण औषधि सेवनपछि रक्तस्राव बढी हुने जोखिम हुन्छ । महिनावारी गडबड हुनसक्छ, जीउ दुख्न सक्छ ।

‘रगत बाक्लो हुने रोग, मोटोपन, उच्च रक्तचाप, माइग्रेन भएकाहरुले सम्भव भएसम्म यस्तो औषधि नखाएकै राम्रो,’ डा. चुडाल भन्छिन् ।

महिलाको महिनावारी दुई हर्मोनमा निर्भर हुन्छ, एस्ट्रोजन र प्रोजेस्टेरोन । महिनावारी हुन नदिन यी हर्मोन विरुद्धको चक्की खानुपर्ने हुन्छ । यसको सोझो अर्थ के भने यी चक्कीले हर्मोनल चक्रलाई असर गर्छ ।

त्यस्तै, महिनावारी रोक्ने चक्की खाँदा कति मात्रामा खाने, कुन समयमा खाने भन्ने कुरा चिकित्सकहरुको सुझावमा खानुपर्ने ईशान बाल तथा महिला अस्पतालमा कार्यरत आईभीएफ विशेषज्ञ डा. ज्योति अग्रवाल बताउँछिन् । हर्मोनकै औषधि भएको हुँदा कहिलेकाहीं खाँदा कति मात्रामा खानुपर्छ भनेर बुझेर खाँदा धेरै हानि नगर्ने उनी बताउँछन् ।

जब हुन्छ गडबड…

आफूखुसी यस्ता औषधि खानेहरु महिनावारी गडबडी भएको समस्या लिएर चिकित्सकहाँ आउने डा. अग्रवाल बताउँछिन् । ‘महिनावरी रोक्ने औषधि खाएकाहरुले निश्चित अवधि गुज्रिसकेपछि महिनावारी भइहाल्छ भन्ने सोच्छन्,’ डा. अग्रवाल भन्छिन्, ‘तर त्यस्तो हुँदैन । महिनावरी औषधि खान छाडेको केही दिनपछि मात्र पनि महिनावारी हुनसक्छ ।’ त्यसैले महिनावरी पर सार्ने औषधि कसरी, कति खाने भन्ने कुरामा हेक्का राख्नुपर्ने उनको सुझाव छ ।

डा. अग्रवालका अनुसार चिकित्सकहरुले तीन अवस्थालाई मध्यनजर गरेर कसलाई यो औषधि दिने र कसलाई नदिने भनेर विभाजन गरेका छन् । एउटा न्यून जोखिमका बिरामी, अर्को मध्यम जोखिम र तेस्रो भनेको उच्च जोखिम ।

मुटुरोग नभएका, स्ट्रोक र प्यारालाइसिस पहिले नभएको, मद्यपान र धुम्रपान नगर्ने, ठिक्क तौल भएका महिलाहरुले खाँदा बढी असर नगर्ने हुँदा न्यून जोखिममा राखिएको छ । मध्यम जोखिम भएका बिरामी जस्तै, उच्च रक्तचाप भएका बिरामी, माइग्रेनको समस्या भएका बिरामीलाई भने विचार गरेर कति दिन खाने, कति मात्रामा दिने सबै सल्लाह दिएर मात्र खान दिने गरिन्छ । त्यसैगरी, मुटुरोगका बिरामी, स्ट्रोकको हिस्ट्री भएका बिरामी, अत्यधिक तौल भएका व्यक्तिलाई भने सकेसम्म सकेसम्म हर्मोन औषधि दिइँदैन ।

माइग्रेनका बिरामी र १२० केजी बीएमआई बढी भएका बिरामीमा रक्तचाप बढाउने, रगत जमाउने, स्ट्रोक हुने न्यून सम्भावना हुने उनको भनाइ छ ।

परिवारमा प्रायः केही न केही कहिले चाडपर्व, कहिले विवाह, कहिले व्रतबन्ध, श्राद्ध केही न केही आइरहन्छन र महिनावारी महिना पिच्छे हुने हुँदा जुध्न सक्छ । ‘जुध्यो भन्दैमा केही नभएको शरीरमा औषधि खाइरहनु राम्रो हुँदैन । सकेसम्म एक वर्षमा एकपटक नत्र चाडपर्वको नाममा नखाँदा नै बेस हुन्छ,’ उनी भन्छिन् ।

अमेरिकन नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार महिनावारी लम्ब्याउने औषधि स्वास्थ्यको लागि हानिकारक हुन्छ । यस प्रकारको औषधिको प्रयोगले शरीरबाट राम्रो ब्याक्टेरियालाई पनि मार्न हुन्छ । जसकारण महिलामा हृदयघात, अल्सर, मिर्गौला, कलेजो र आन्द्रा सम्बन्धी समस्याको सम्भावना हुन्छ ।स्रोत - अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्