सुतेको बेला घुर्ने समस्या सामान्य नहुन सक्छ

| २०७९ मंसिर ११ गते १७: १९ मा प्रकाशित

काठमाडौं । सुतेको अवस्थामा कोही किन घुर्छन् ? खासमा वायुमार्गको समस्याले गर्दा श्वासनली आंशिक बन्द हुन पुग्छ, जसकारण फोक्सोमा पर्याप्त अक्सिजन पुग्दैन । यही स्थितिमा मान्छे घुर्छ ।

यो ध्वनि घाँटीको पछाडिको नरम तन्तु (अभ्युला र नरम तालु), जिब्रोको आधारमा हुने कम्पनले पैदा हुन्छ । लगभग संसारका आधा मानिस आफ्नो जीवनको कुनै न कुनै बिन्दुमा घुर्ने गर्छन् ।

किन घुर्छन् मानिस ?

यसको एउटा मात्र जवाफ छैन । मान्छेको स्थितिअनुसार घुर्ने समस्या पनि फरक हुन्छ । कसैको तौल बढी हुँदा वा कसैको सुताइ नमिल्दा घुर्ने गर्छ । नाक र घाँटीका मांसपेशी कमजोर हुनु, फोक्सोमा अक्सिजन पर्याप्त नपुग्नु जस्ता कारणले मान्छे घुर्छन् ।

निदाएको बेला शरीरका सबै अंगले आराम गर्छन् । त्यही समयमा सबैभन्दा बढी घुर्ने हो । कहिलेकाहीं घुर्नु सामान्य भए पनि नियमित घुर्नु समस्या हो ।

घुर्ने समस्या प्रायः मोटोपन भएका व्यक्तिलाई हुन्छ । मोटोपन भएका व्यक्तिको घाँटीको प्वाल सानो हुने भएकाले उनीहरु घुर्छन् । घाँटीको पछाडि मासु पलाएको छ, नाकको हड्डी बाङ्गो भएमा, टन्सिल ठूलो भएमा घुर्ने समस्या देखिन्छ । यसैगरी रक्सी पिएर सुतेको अवस्थामा पनि मान्छे घुर्छन् ।

चर्को स्वरमा घुर्ने

कुनै व्यक्ति चर्को स्वरमा घुर्छ भने उसलाई स्लिपएपनिया हुन सक्छ । चर्को स्वरमा घुरेको आवाज अचानक बन्द हुनु र निस्सासिने वा सास फेर्न गाह्रो हुनुका साथै घुरेको आवाज आउनु स्लिपएपनियाको स्पष्ट संकेत हो ।

घुर्ने समस्याको उपचार

घुर्ने समस्या के कारणले भएको हो ? मोटोपनको कारण वा नाकको समस्याले । सुत्ने आसनले हो वा मदिराले । यी कारण पत्ता लगाएर सोही अनुसार उपचार खोज्न सकिन्छ ।

यदि मोटोपनको कारणले भए मोटोपन घटाउनुपर्छ । सुताइ नमिलेर हो भने सुत्ने आसन परिवर्तन गर्नुपर्छ । धुम्रपान र मद्यपानले हो भने त्यस्तो लत त्याग्नुपर्छ ।

यति गर्दा पनि भएन भने घाँटी, नाक आदिमा समस्या भएको हुनसक्छ । चिकित्सकको परामर्श लिन जरुरी हुन्छ ।

बढी घुर्नु घातक हुनसक्छ

नियमित घुर्ने समस्या छ भने त्यसलाई बेवास्ता गर्नु हुँदैन । यसले मेटाबोलिक सिन्ड्रोम, मधुमेह, उच्च रक्तचाप, मुटुरोगको संकेत गर्छ । त्यस्तै बच्चामा घुर्ने रोग छ भने नाकको हड्डी बाङ्गो हुनसक्छ । मुखको बनावट बिग्रिन सक्छ ।

यदि घुर्ने समस्याले खासै तपाईंको जीवनमा प्रभाव पारेको छैन भने अस्पताल जानु पर्दैन । यदि त्यसले कुनै न कुनै रुपमा तपाईंको जीवनलाई प्रभाव पारको छ भने अस्पताल जानैपर्छ ।

घुर्ने कारणले निद्रा अपुग हुनसक्छ, तपाईंले अल्छी महसुस गर्नुहुन्छ । एकाग्रताको कमी हुन्छ । यसले आफूलाई मात्र होइन आफूसँगै सुत्ने साथीलाई पनि बाधा गर्नसक्छ । त्यस्तो स्थितिमा उपचार खोज्नैपर्छ ।

(नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. अधिकारीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)अनलाइन खबर बाट साभार 

प्रतिक्रिया दिनुहोस्