विश्वकै पहिलो एन्टीभाइरस म्याकाफीका निर्माताले गरे जेलभित्र आत्महत्या

| २०७८ असार १२ गते ०९: ०२ मा प्रकाशित

विश्व चर्चित एन्टी भाइरस सफ्टवेयर निर्माता तथा व्यवसायी जोन म्याकाफीले आत्महत्या गरेका छन् ।

बेलायती मूलका अमेरिकी नागरिक म्याकाफीले स्पेनको बार्सिलोनास्थित एक जेलमा आत्महत्या गरेका बीबीसीले उल्लेख गरेको छ ।

कर छली गरेको अभियोगमा छानविनका लागि अमेरिका सुपुर्दगी गर्ने स्पेनी अदालतको फैसलाको केही घण्टापछि उनी जेलभित्रै मृत अवस्थामा भेटिएका हुन् ।

स्पेनको न्याय मन्त्रालयले जेलभित्र अचेत अवस्थामा फेला परेका उनलाई डाक्टरहरुले बचाउने कोसिस गरेपनि सफल भएन ।

प्राप्त प्रमाणहरुका आधारमा म्याकाफीले आत्महत्या गरेको देखिएको न्याय मन्त्रालयले जनाएको छ ।

प्रविधि जगतका विवादास्पद व्यक्तित्व म्याकाफीको कम्पनीले विश्वकै पहिलो कम्प्युटर एन्टी भाइरस सफ्टवेर McAfee VirusScan बनाएको थियो । यो एन्टी भाइरसले कम्प्युटर जगतमा अर्बौ डलरको नयाँ उद्योगको सिर्जना गरेको थियो । उनले आफ्नो उक्त एन्टीभाइरस कम्पनी ७ अर्ब ६० करोड डलरमा इन्टेललाई बेचेका थिए ।

सन् २०२० को अक्टोबरमा जहाजबाट टर्कीतर्फ उड्ने क्रममा जोन म्याकाफी स्पेनमा पक्राउ परेका थिए । उनीमाथि अमेरिकामा पछिल्लो चार वर्षसम्म कर नतिरेको अभियोग थियो । परामर्श सम्बन्धी काम, प्रवचन, क्रिप्टो करेन्सी तथा आफ्नो आत्मकथा किताबको बिक्री लगायतबाट दशौँ लाख डलर आम्दानी गरेपनि उनले कर तिरेका थिएनन् ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार उनले आफ्नो आम्दानी बैंक अकाउन्ट तथा क्रिप्टोकरेन्सी सटही अकाउन्टमा इच्छाएको व्यक्तिको नाममा भुक्तानी लिएर कर छली गर्ने गरेका थिए ।

साथै उनले पानी जहाज, घरजग्गालगायतका सम्पत्तिहरु लुकाएको र अरुको नाममा राखेको आरोप पनि लागेको थियो ।

बुधबार स्पेनको राष्ट्रिय अदालतले म्याकाफी विरुद्धको मुद्दामा फैसला गर्दै करछलीको विषयमा अनुसन्धानका लागि उनलाई अमेरिका सुपुर्दगी गर्ने आदेश गरेको थियो ।

पछिल्ला वर्षहरुमा म्याकाफीले आफूमाथि षडयन्त्र भएको बताउने गरेका थिए । तर स्पेनी अदालतले चाहिँ अमेरिकामा उनीमाथि राजनीतिक तथा वैचारिक कारणले कुनैपनि खतरा नरहेको ठहर गरेको छ ।

बेलायतमा जन्मिएका जोन म्याकाफी सन् १९८० को दशकमा आफ्नो प्रविधि कम्पनी स्थापना गरेर विश्वकै पहिलो एन्टीभाइरस McAfee VirusScan बजारमा ल्याएसँगै चर्चाको शिखरमा पुगेका थिए ।

कम्प्युटर सुरक्षाको क्षेत्रका संस्थापक व्यक्तित्व भएपनि उनले एकपटक बीबीसीसँगको अन्तर्वार्तामा आफूले आफ्नो कम्प्युटरमा कुनैपनि एन्टीभाइरस हाल्ने नगरेको बताएका थिए ।

सन् २०१३ मा बीबीसीसँगको अन्तर्वार्तामा उनले भनेका थिए ‘मैले मेरो आईपी एड्रेस निरन्तर परिवर्तन गरेर आफ्नो कम्प्युटर प्रणालीलाई सुरक्षित बनाउने गर्दछु । आफूले प्रयोग गर्ने कुनैपनि डिभाइसलाई आफ्नो नामसँग जोड्दिन र भाइरस हुनसक्ने कुनैपनि वेबसाइट खोल्दिन । मैले कहिल्यैपनि पोर्न साइट खोल्दिन ।’

उनले सन् २०१६ तथा २०२० को अमेरिकी राष्ट्रपति चुनावमा लिबर्टारियन पार्टीको तर्फबाट उम्मेदवार हुने असफल प्रयास पनि गरेका थिए ।

सन् २०१९ मा उनले करप्रतिको आफ्नो अनिच्छा प्रकट गर्दै एक ट्वीट गरेका थिए । जसमा उनले कर असूल्ने कार्य गैरकानूनी रहेको हुँदा आफूले ८ वर्षदेखि कर चुक्ता नगरेको बताएका थिए ।

सोही वर्ष उनी हतियार ल्याएको आरोपमा केही समय डोमिनिकन रिपब्लिकमा पक्राउ परी हिरासतमा बसेका थिए ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्