सत्तारुढ घटक जसपाले संविधान दिवस बहिष्कार गर्ने

संविधान संशोधनको पक्षमा उभिन अध्यक्ष यादवको आह्वान

| २०७८ असोज २ गते १६: २६ मा प्रकाशित

काठमाडौँ — सत्ता गठबन्धनकै एक घटक जनता समाजवादी पार्टी (जसपा)ले नै सरकारले आयोजना गर्ने संविधान दिवसका कार्यक्रम बहिष्कार गर्ने भएको छ । अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गर्दै संविधानको विरोध गर्न, संविधान दिवसका सबै कार्यक्रम बहिष्कार गर्न र संविधानका विभेदकारी व्यवस्था तथा त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनका लागि देशैभरि ‘संविधान संशोधनको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रम गर्न पार्टी संगठन र आमजनसमुदायलाई आह्नानसमेत गरेका छन् । 

सरकारले जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मधेस जनविद्रोह लगायतका आन्दोलनको बेलामा भएका सम्झौताहरु, अन्तरिम संविधानमा भएका प्रावधानहरु, पहिलो संविधानसभामा सर्वसम्मत भइसकेका विषयहरु तथा जनताको अभिमतलाई समेत अनादर गरेको अध्यक्ष यादवले बताएका छन् । सरकारले विभेदकारी, अधुरो, अपुरो एवम् त्रुटिपूर्ण संविधान मधेसी, आदिवासी जनजाति दलित, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायका मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

उनले संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायतत्ता, समानुपातिक समावेशिकरण लगायतका प्रावधान भए पनि ती व्यवस्था अधुरो र अपूर्ण रहेको बताएका छन् । 

eKantipur

प्रतिक्रिया दिनुहोस्