अर्घाखाँचीको प्रसिद्व अर्घा मन्दिरमा २१ फीट अग्लो भगवतीको मूर्ति निर्माण गरिँदै: एसियाकै सबैभन्दा ठूलो भएको दाबी

| २०७८ भदौ २ गते १३: ५९ मा प्रकाशित

 प्रेमनारायण आचार्य,अर्घाखाँची।अर्घाखाँचीकोे ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्घा भगवती मन्दिरमा २१ फीट अग्लो भगवती देवीको मूर्ति स्थापन गरिने भएको छ ।

सन्धिखर्क नगरपालिकाले बाइसे, चौबिसे राज्य अन्तर्गत पर्ने सन्धिखर्क नगरपालिका–९ मा रहेको अर्घा दरबार अर्थात अर्घा भगवती मन्दिरमा १० फीटको बेसमा २१ फीट अग्लो मूर्ति राख्न थालिएको नगरपालिकाले जनाएकाे छ ।

लुम्बिनीमा आएका पर्यटकहरु तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीय स्थल सुपा देउरालीमा आएका पर्यटकहरुलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान मूर्ति स्थापना गरिएको नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालको भनाइ छ ।

नगर प्रमुख भुसालले भन्नुभयो, ‘नगरपालिकाको आर्थिक कारोबारमा मन्दी आउन थालेपछि धार्मिक पर्यटकहरुलाई भित्र्याउनका लागि एसियाकै ठूलो मूर्ती स्थापना गर्न थालेका हौँ ।’

नगरपालिकाको १ करोड ९९ लाख रुपैयाँको लागतमा मूर्ति तथा मूर्ति राख्ने बेस निर्माण कार्य भैरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो । ललितपुरबाट मूर्तिकारहरु झिकाइ मुना निर्माण सेवाले मूर्ति निर्माण कार्य गरिरहेको अर्यालको भनाइ छ । मन्दिरमा जानका लागि नगरपालिकाको पहलमा सडक समेत  पिच हुन थालेको छ  ।
 

प्रतिक्रिया दिनुहोस्