अर्घाखाँची जिल्लामा ३५ हजार बढीले कोरोनाविरुद्धको खोप लगाए : ३१.३७ प्रतिशत सहित लुम्बिनी प्रदेशमै पहिलो

| २०७८ भदौ ३ गते १४: ३७ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची।अर्घाखाँची जिल्लामा हालसम्म ३५ हजार ९८३ जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार १० हजार ४२२ जनाले कोभिशिल्ड र १४ हजार ६९८ जनाले भेरोसेलको दुवै डोज खोप लगाएका हुन् । यस्तै एक मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप १० हजार ८६३ जनाले लगाएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिजय बिकले जानकारी दिनुभयो । १८ बर्ष भन्दा माथीका १ लाख १४ हजार ७०५ जना खोप लगाउन योग्य जनसंख्यामध्ये अहिलेसम्म ३१ दशमलव ३७ प्रतिशतले दुवै मात्रा खोप लगाएको सुचना अधिकारी बिकले बताउनुभयो ।

कोभिशिल्डकोे पहिलो मात्रा लगाउने १२ हजार ७५८ रहेकोमा १० हजार ४२२ जनाले दोस्रो मात्रा लगाइसकेका छन् । यस्तै भेरोसेलको पहिलो मात्रा १७ हजार २३७ जनाले लगाएकाछन भने १४ हजार ६९८ जनाले दोस्रो मात्रा लगाई सकेका छन । कोभिशिल्डको दोस्रो मात्राको प्रतिक्षामा रहेका ६५ वर्ष र सो भन्दा माथिका उमेर समूह र अन्यका लागि अस्ट्राजेनिकाको खोप दिइने सुचना अधिकारी बिकले जानकारी दिनुभयो ।

कोरोना निवारणका लागि कार्यस्थलमा खटेका, लक्षित वर्ग र विभिन्न उमेर समूहका व्यक्तिलाई प्राथमिकता दिएर खोप लगाइएको कार्यालय प्रमुख पुष्पा थापाको भनाई रहेको छ । जिल्लामा गत फागुनको अन्तिम सातासम्म कोभिशिल्डको पहिलो मात्रा खोप लगाएका ९ हजार भन्दा बढीलाई पाँच महिनापछि दोस्रो मात्राको खोप दिईएको हो । ३१.३७ प्रतिशतले हालसम्म दुवै मात्रा खोप लगाएसंगै अर्घाखाँची जिल्ला लुम्बिनी प्रदेशमै पहिलो बनेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्