अर्घाखाँचीमा पानीका मुहान बचाउन ‘रिचार्ज पोखरी’

| २०७८ पौष २१ गते १९: ४५ मा प्रकाशित

प्रेमनारायण आचार्य,अर्घाखाँची । झन्डै तीन वर्षअघि सन्धिखर्क नगरपालिका ९ अर्घामा रहेको काफलपानी पँधेरो सुक्यो । त्यस ठाउँका ५० घरले पिउने पानी प्रयोग गर्ने पधेँरो हिउँदमा सुकेपछि टाढाको अर्को पँधेरोबाट पानी खान स्थानीयवासी बाध्य भए । रोजगारी र अध्ययनको सिलसिलामा युवायुवती गाउँमा नबसेपछि घरमा रहेका वृद्धवृद्धालाई निकै सास्ती भयो ।

तर गएकाे वर्ष ठूलो खडेरी लाग्दा समेत पानी नसुकेपछि स्थानीयवासी खुसी भएका छन् । युवा समाजसेवी तथा व्यवसायी कृष्णप्रसाद भुसाल र पत्रकार हरिप्रसाद भुसालको नेतृत्वमा सुरु भएको दश घर एक पोखरी अभियानले दुई वर्षअघि काफलपानी पँधेरो भन्दा माथि नेटाका पोखरामा पोखरी खनेपछि काफलपानी पँधेराको पानी नसुकको हो ।

पानी पँधेरो खडेरीमा पनि नसुकेपछि आफूहरू खुसी भएको स्थानीयवासी जीवबहादर दमाइले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘दुई/तीन वर्षअघि सामान्य खडेरीमा पनि सुक्न थालेको पँधेरो यो पोखरी खनिएपछि गएकाे वर्ष ठूलो खडेरीमा पनि सुकेन ।’

नेटाका पोखरा मात्र होइन दुई वर्षअघि सुरु भएको दश घर एक पोखरी अभियानले अर्घाखाँची जिल्लाका विभिन्न ठाउँमा साना–ठूला गरी ४० भन्दा बढी पोखरी निर्माण गरिएकाे थियो ।

आफूहरूले खनेका पोखरीका कारण धेरै ठाउँमा हिउँदमा पनि पानी नसुकेको रिचार्ज पोखरी निर्माण अभियानका अभियन्ता कृष्णप्रसाद भुसालको भनाइ छ । ‘त्यतिबेला विभिन्न व्यक्तिको झन्डै एक लाख रुपैयाँकाे सहयोगमा विभिन्न ठाउँमा पोखरी निर्माण गरिएको थियो । बढ्दो जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै जान थालेकोले पानीको मुहान संरक्षण गर्न हामीहरूले अभियान सुरु गरेका हाैँ’, उहाँले भन्नुभयाे ।

दुई वर्षअघि खनेका पोखरीले खडेरीमा समेत मूल मर्न नदिएको देखेपछि हौसिएका अभियन्ताहरूले गएको तिहारमा लायन्स क्लब अफ अर्घाखाँचीसँग समन्वय गरी देउसी–भैलोबाट उठेको पैसाबाट पनि रिचार्ज पोखरी खनिरहेका छन् । दश घर एक पोखरी अभियानले जिल्लाका विभिन्न ठाउँमा पोखरी निर्माण गरिरहेको छ । पाँच वटा पोखरी खनिसकेको र अझै पाँच वटा पोखरी खन्ने काम भइरहेकाे भुसालको भनाइ छ ।

विकासका क्रममा बाटो, खेल मैदान अनि संरचनाहरू निर्माण हुँदा धेरै ठाउँमा पोखरी पुरिएको र पोखरी पुरिएकै कारण अर्घाखाँचीमा पानीको समस्या झन् बढेको निष्कर्षसहित दश घर एक पोखरी अभियानको सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्