प्रचण्ड मोहनविक्रम जस्तै हुनथाले, त्यसैले म केपी ओलीतिर लागेँ : रायमाझी

| २०७८ पौष २४ गते १४: ०९ मा प्रकाशित

बिरेन्द्र केसी,अर्घाखाँची। एमाले सचिव टोपबहादुर रायमाझीले ५ दलीय गठबन्धन गरेर पुष्पकमल दाहालले कम्युनिस्टको नाममा अराजनीतिक तथा राजनीतिक रुपमा अपराधीपूर्ण काम गरेको आरोप लगाए ।

उनले ओरालो लाग्दै गरेको माओवादी केन्द्र र त्यसका अध्यक्ष दाहाल कांग्रेसको पुच्छर भएर लागेको पनि आरोप लगाए । एमाले अर्घाखाँचीको ८ औं जिल्ला अधिवेशनलाई उदघाट्न गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीले चुनावमा सूर्य र हसिया हथौडामा भोट मागेर अहिले दाहाल कांग्रेसको पुच्छर भएर लागेर ठूलो भुल गरेको बताए ।

‘माओवादी केन्द्र र दाहाल अब मोहनविक्रम सिंह जस्तै हुन थाले, त्यसैले म केपी ओलीतिर लागेको हुँ,’ रायमाझीले भने, ‘दाहाल कम्युनिस्ट राजनीतिक रुपमा बेइमान हुन् । माधव नेपाल र दाहाल तुहिनेवाला छन्, उनीहरू विसर्जनको बाटोतिर छन् ।’ दाहाल र नेपाल कम्युनिस्ट पार्टीको नीति, सिद्धान्त छाडेर कांग्रेसतिर लागेकाले उनीहरूको पछि लाग्ने नेता कार्यकर्ताको भविष्य नभएको उनको तर्क छ ।

माओवादी केन्द्रका जिल्ला नेता राजेन्द्र जिसी एमालेमा प्रवेश गरेपछि रायमाझीले अर्घाखाँची माओवादीका सयौं नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएर माओवादीलाई शून्यमा झारिने उनले चेतावनी दिए । ‘राष्ट्रियसभा चुनावमा हामी हार्दैछौं,’ उनले भने, ‘एमालेसँग एक्लै भिड्ने हैसियत नभएपछि ५ दलीय गठबन्धन गरेका छन् । हामी हारे पनि जितेका छौं ।’

प्रतिक्रिया दिनुहोस्