अर्घाखाँचीमा गएको एक वर्षमा प्रहरी कारवाहीमा उठ्यो ५४ लाख ६० हजार राजस्व

| २०८० सावन ३० गते १३: ४८ मा प्रकाशित

लक्ष्मण घिमिरे ,अर्घाखाँची । गत आर्थिक वर्ष २०७९/०८० मा जिल्ला प्रहरी कार्यालयमा ५४ लाख ६० हजार राजस्व उठेको छ । सवारी साधन र अन्य कारवाही गरेर गएको एक आर्थिक वर्षमा ५४ लाख ६० हजार ७ सय ६४ रुपैयाँ कारवाही बापत राजस्व उठेको हो ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार ३७ लाख २१ हजार रुपैयाँ सवारी साधन कारवाहीबाट उठेको छ । यस्तै अवैध नदिजन्य पदार्थ, अवैध ढुवानी, अवैध स्त्रि पशुचौपाया, भन्सार छली लगायतको कारवाहीबाट १७ लाख ३९ हजार ७६४ रुपैयाँ राजस्व संकलन भएको हो ।

गत आर्थिक वर्षमा बस, ट्रक, ट्याक्टर, मोटरसाईकल, जिप, कार टेम्पो गरेर ट्राफिक नियमको उल्लघंन गर्ने कुल ६ हजार २ सय १२ सवारी साधन कारवाहीमा परेका छन् । लाईसेन्स, ब्लु बुक नबोकेका सवारी, मादक पदार्थ सेवन गरी सवारी चलाएका, ओभरलोड, कागजपत्र अध्यावधिक नगरेका सवारी साधन कारवाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हरी बहादुर केसीले बताए ।

यस्तै गत आर्थिक वर्षमा अवैध नदिजन्य पदार्थ उत्खनन गर्ने, अवैध ढुवानी गर्ने, अवैध स्त्रि पशुचौपाया ओसार पसार, भन्सार छली, अवैध बन पैदावार लगायतमा ६६ जना मानिस र ६६ सवारी समातिएको प्रहरीले जनाएको छ ।

गत वर्ष ३० ओटा सवारी साधन दुर्घटनामा परेका थिए । जसमा १३ जनाले ज्यान गुमाएका छन् । ११ जना पुरुष, एक जना महिला र एक बालकले गत वर्ष ज्यान गुमाएका थिए । दुर्घटनामा ३९ जना घाईते भएका छन् ।

चुनढुङ्गा बोक्ने टिपरलाई टाईमकार्ड
सन्धिखर्क–गोरुसिंगे सडकखण्डको नरपानीदेखि पत्थरकोटसम्म चुनढुंगा बोक्ने टिपरमा टाइम कार्ड लागू भएको छ ।

चुनढुंगाको लोड बोकेका गाडीहरू तिव्रगतिमा हिँड्दा दुर्घटना बढ्ने भएपछि चुनढुङगा बोक्ने ट्याक्टर र टिपरमा टाइमकार्ड लागु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए। टाइमकार्ड लागु भएपछि चुनढुंगा बोकेका लोड गाडीहरू नरपानीबाट ४ घण्टामा पत्थरकोट पुग्नु पर्ने भएको छ ।

एक आपसमा प्रतिस्पर्धा गर्दा तीव्र गतिमा गुड्ने हुँदा सवारी असुरक्षा हुने भन्दै दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्