चाडपर्वमा अर्घाखाँचीमा केहि मात्रामा राेकियाे सरकारी सवारी साधनकाे दुरुपयाेग

| २०८० कार्तिक १० गते १८: ४१ मा प्रकाशित

भिम बिश्वकर्मा ,अर्घाखाँची । चाडवाडको समयमा हुने सरकारी सवारीसाधनहरुको दुरुपयोग यो वर्ष भने कमि देखिएको छ ।

अघिल्ला वर्ष हरुमा मेला पर्व र सार्वजनिक विदाकाे दिनमा सरकारी सवारी साधनहरुकाे व्यापक दुरुपयाेग हुने गरेकाेमा याे पटक भने कमि देखिएको हो । सरकार, मिडिया, सर्वसाधारणको चासाे एवं खाेजीनिधि तथा प्रशासन र प्रहरीले कडाई गर्न थाले पश्चात् यसमा कमी आएकाे हाे ।

विगतमा दशैमा समेत सरकारी साधन लिएर टिकाे लगाउन जानेसम्म गरेका कर्मचारी र पदाधिकारीहरुले याे वर्ष भने त्यस्ताे नदेखिएकाे धेरैले बताएका छन् । बाहिरी जिल्लामा कार्यरत कर्मचारीहरुले लिएका सवारी साधन बाहेक यस जिल्लाका कुनै पनि कार्यालयका साधनहरु गुडेकाे देखिएकाे छैन ।

यो वर्ष जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सरकारी सवारीसाधनको पास समेत जारी नगरेको कारण दुरुपयोग नभएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासन अधिकृत नुमलाल पन्थिले जानकारी दिए । “अघिल्ला वर्षहरुमा पास जारी गर्दा जुन कामको लागि भनिएको हो त्यो काम नगरेर दुरुपयोग गरेको पाइएको हुदा यो वर्ष त्यस्तो नहोस भनेर पास जारी गरेनौ” पन्थिले भने, “सिमा क्षेत्रको बन क्षेत्रमा गस्ती गर्नु पर्ने भएकोले गर्दा डिभिजन बन कार्यालयका दुईवटा गाडिहरुलाई मात्र गस्तीको लागि पास जारी गरेका छौ, अरु कसैलाइ पास जारी गरिएन् । अत्यावश्यक अवस्था हेरिकन भयो ।”

यस्तै जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख प्रतित सिंह राठौरले यो बर्ष दुरुपयोग भएका कुनै पनि गाडी कार्वाहीमा नपरेको जानकारी दिए । “हामिलाइ दुरुपयोग गरेको पाइएमा जोसुकै भए पनि कार्वाही गर्न प्रशासनबाट पनि निर्देश गरिएको थियो, हामी त्यसै अनुसार लागेका थियौँ ।” उनले भने, “यो बर्ष दुरुपयोगका शून्य घटना भए ।”

जिल्ला प्रशासन अर्घाखाँचीकाे व्यवस्थित नियमनका  कारणले यस्ताे भएकाे सबैकाे ठम्याई छ । भने प्रशासन कार्यालयले यसै गरि कडा गरे अन्य सार्वजनिक बिदाकाे दिनमा पनि दुरुपयाेग राेकिनेमा सर्वसाधरण विश्वस्त छन् ।

तर केही कार्यालयका प्रमुख, जनप्रतिनिधिहरुकाे कारण सधै गुनासाे आउने गरेकाे छ, जसले काम भन्दा घुम्न र परिवार तथा नातागाेताहरु ओसारपसार गर्नमा सरकारी सवारी साधनकाे दुरुपयाेग गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्