टोपबहादुर रायमाझीलाई कानुनी दायरमा ल्याउन एमालेलाई माओवादीको आग्रह

| २०८० बैशाख २४ गते १७: ३४ मा प्रकाशित

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले पक्राउ पुर्जी जारी भएपछि सम्पर्कमा नरहेका एमाले सांसद टोपबहादुर रायमाझीलाई कानुनी दायरमा ल्याउन नेकपा एमालेलाई आग्रह गरेको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा एमालेका सांसदहरुले भ्रष्टाचारको विषयमा विगतका अन्य फाइलहरु पनि खोलिनुपर्ने बताएपछि माओवादीले आरोप लागेका पात्रलाई सार्वजनिक गर्न भनेको हो ।

प्रमुख प्रतिपक्ष भ्रष्टाचारीलाई कारबाही गर्नका लागि इमानदार हो भने आरोप लागेका व्यक्तिलाई कानुनको दायरामा ल्याउन सहयोग गर्नुपर्ने बताउँछन् माओवादी केन्द्रका सांसद माधव सापकोटा । ‘इमानदारीपूर्वक टोपबहादुर रायमाझीलाई ल्याएर कानुनको दायरमा बुझाउनुहोस्, त्यसैमा तपाईंहरुको कल्याण छ’, सांसद सापकोटाले एमालेलाई जवाफ फर्काएका छन् ।

त्यसअघि एमालेका प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, एमाले सांसद सूर्य थापा लगायतले भ्रष्टाचार नियन्त्रणमा आफूहरु तयार रहेको तर, विगतका भ्रष्टाचार सम्बन्धी काण्डहरुको पनि छानबिन हुनुपर्ने बताएका थिए ।

‘प्रधानमन्त्रीले बाहिर भन्दै हिँड्नुभएको छ । भ्रष्टाचारको सवालमा ट्रेलर मात्रै हो । फ्लिम त आउन बाँकी नै छ । हामी फ्लिम हेर्नका निम्ति आतुर छौं । टिकट काटेर बसेका छौं फ्लिम देखाउनुस्’ एमालेका प्रमुख सचेतक गिरीले भनेका छन् ।

भ्रष्टाचार सम्बन्धी अध्ययन गर्दा वाइडबडी काण्ड, बाँसबारी जग्गा, बालमन्दिर, मातातीर्थ, यति काण्ड, ओम्नि काण्ड, लडाकु शिविर काण्ड, सिसिटिभी फुटेज लगायतका विषयमा समेत अध्ययन गरिनुपर्ने गिरिको माग छ ।स्रोत - अनलाइन खबर 

 

प्रतिक्रिया दिनुहोस्