कांग्रेसले सुरू गर्यो अनलाइनबाटै पार्टीको सदस्यता

| २०८० असार १२ गते १८: ३१ मा प्रकाशित

काठमाडौं, १२ असार । नेपाली कांग्रेसले अनलाइनबाट पार्टीको सदस्यता प्रदान गर्न सुरु गरेको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो।

समितिका संयोजक एवं पार्टीका महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बसेको बैठकले अबदेखि कांग्रेस सदस्य बन्न चाहने नेपाली नागरिकले नेपाली कांग्रेसको बेवसाइटमा गई सदस्यता आवेदन दिन र अनलाइनबाटै सदस्यता शुल्क बुझाउन सकिने निर्णय गरेको हो।

कांग्रेसको वेबसाइट www.nepalicongress.org/online-membership मा सदस्यता फारम भरिसकेपछि सो को जानकारी मोबाइलमा म्यासेजमार्फत प्राप्त हुने पार्टी केन्द्रीय कार्यालयका कावा मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए।

यसरी प्राप्त आवेदन पार्टीको केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरी अनलाइनबाटै फोटोसहितको सदस्यता कार्ड आवेदन दिने व्यक्तिलाई प्राप्त हुनेछ।

यसअघि कांग्रेसको क्रियाशील सदस्य भइसकेका व्यक्तिको क्रियाशील सदस्यता कार्ड केन्द्रले उपलब्ध गराउँदै आएकामा अब पार्टी जिल्ला कार्यालयले नै प्रिन्ट गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन सक्ने गरी सहज व्यवस्था गरिएको उनले बताए।

कांग्रेसको विधानअनुसार क्रियाशील सदस्यता प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था छ। प्रत्येक वर्ष गर्नुपर्ने क्रियाशील सदस्यता नवीकरणको नियमित प्रक्रिया सुरु गरिसकिएको छ।

नवीकरण गर्नका लागि जिल्ला कार्यालयले मातहतका निकायबाट विधानबमोजिमको आवश्यक प्रक्रिया पूरा गरी/गराई योग्यता पुगे नपुगेको हेरी अनलाइनबाटै नवीकरण विवरण भर्ने व्यवस्था गरिएको छ। यसरी नवीकरण भएको व्यक्तिको सदस्यता नवीकरण कार्ड अनलाइन वा प्रिन्ट गरेर जिल्ला कार्यसमितिले नै सदस्यलाई उपलब्ध गराउने व्यवस्था गरिएको कावा मुख्यसचिव पराजुलीले बताए।

 

प्रतिक्रिया दिनुहोस्