प्रतिनिधिसभाबाट बजेट पारित : पक्षमा १४७ मत, विपक्षमा १०८

| २०८० असार १३ गते १७: ४४ मा प्रकाशित

काठमाडौं।  प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ।

अर्थमन्त्री प्रकाशशरण महतले पेस गरेको विनियोजन विधेयक पारित गरियोस् भन्ने पक्षमा १४७ र विपक्षमा १०८ मत परेको सभामुख देवराज घिमिरेले घोषणा गरे।

मतदानमा २५५ जना सांसद सहभागी भए। प्रमुख प्रतिपक्ष दल एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले बजेटको विपक्षमा मतदान गरे।

जेठ २२ देखि सुरु भएको बजेटमाथिको छलफल सकिएसँगै बजेट पारित भएको हो।

यसअघि विशेष गरी सत्तारुढ जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले बजेट संशोधन नभए पारित गर्न नदिने अडान राख्दै आएका थिए।

तर बजेट संशोधन सम्भव नदेखिएको तथा प्रधानमन्त्री र अर्थमन्त्रीले आश्वासन दिएपछि त्यसलाई पारित गरेर जाने विषयमा सहमति जुटेको थियो।

बजेट पारित गर्न सत्तारूढ दलहरूले ह्विप जारी गरेका थिए।रासस 

प्रतिक्रिया दिनुहोस्