दाङमा दुई हप्तायता ह्वात्तै बढ्यो गोलभेँडाको भाउ

| २०८० सावन १८ गते २३: ३५ मा प्रकाशित

दाङको तुलसीपुर बजारमा गोलभेँडाको बजारको मूल्य केजीमा दुई सय रुपैयाँसम्म पुगेको छ। 

असार सुरू हुनुभन्दा पहिले एक सय रुपैयाँमा पाँचदेखि आठ केजीसम्म गोलभेँडा किन्न पाइन्थ्यो। 

गोलभेँडाको भाउ एकाएक किन बढ्यो? अधिकांश थोक व्यापारी अनुकूल मौसमलाई मान्ने गर्छन्। अर्कोतर्फ नेपालबाट छिमेकी देश भारतमा गोलभेँडा निर्यात हुनुले पनि गोलभेँडाको भाउ अचाक्ली बढेको उनीहरू ठान्छन्। 

तुलसीपुर तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष माधवप्रसाद घिमिरेले भारतका व्यापारी आएर गोलभेँडा सोझै उतै लैजान थालेपछि दाङमा गोलभेँडाको अभाव हुन गई मूल्य ह्वात्तै बढेको बताए। 

‘इण्डियाका व्यापारी सल्यान कपुरकोट गएर सोझै गाडीका गाडी गोलभेँडा लगिरहेका छन्,’ उनले भने, ‘इण्डियाको अभाव टार्न यताबाट गोलभेँडा जान थालेपछि विगत दुई हप्तायता गोलभेँडाको भाउ बढ्दै गएको हो।’

यसले गर्दा उपभोक्तालाई मर्का परे पनि किसानलाई भने फाइदा पुगेको उनले बताए।

‘उताबाट विदेशी पैसा नेपाल भित्रने हुँदा पनि हामीले विरोध गरेका छैनौं,’ अध्यक्ष घिमिरेले भने। 

तुलसीपुरमा मात्रै दैनिक तीन सय क्यारेट जति गोलभेँडा खपत हुने गरे पनि मूल्य बढेपछि उपभोक्ताले थोरै मात्रै किन्न थालेको घिमिरेले जानकारी दिए। 

‘मूल्य बढेपछि उपभोक्ताले खरिद घटाएका छन्,’ उनले भने, ‘उपभोक्ता यो महँगीमा थोरै लैजाऊँ भन्दै घटाएर लैजानु हुन्छ।’

गोलभेँडाबाहेक अन्य सबै तरकारीको भाउ भने पहिलेजस्तै सामान्य रहेको उनले बताए।

तुलसीपुर सब्जिमण्डीमा गोलभेँडा हिजोआज केजीको एक सय ८० मा बिक्री भइरहेको छ भने बजारमा फुटकर दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। 

अनुकूल मौसम नहुनु तथा दाङमा यतिखेर गोलभेँडा उत्पादन नहुनु, सल्यान तथा रोल्पाजस्ता पहाडी जिल्लाबाट आउने गोलभेँडा भारत पनि निर्यात हुने थालेपछि जिल्लामा गोलभेँडाको अभाव हुन गई भाउ बढेको तुलसीपुर तरकारी तथा फलफूल व्यवसायी संघका झुपलाल खड्काले बताए। 

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले दुई दिन अगाडि आफू भारतको नानपारा पुग्दा नेपालबाट गोलभेँडा आएको भन्ने कुरा स्थानीय व्यापारीबाट सुनेको हुँदा भारत निर्यात भएकै कारण गोलभेँडा बढेको भए पनि त्यो रोक्न प्रयास गरिने बताए। 

तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र इलाका प्रहरी कार्यालय तुलसपुरका प्रमुख डिएसपी पुष्पराज मल्ल लगायतसँग यो विषयमा कुरा गरी बाहिर गोलभेँडा पठाउने कुरा बन्द गर्नका लागि पहल गर्ने अध्यक्ष चालिसेले बताए। 

त्यस्तै उनले तुलसीपुर सब्जिमण्डी र बाहिर बजारमा फुटकर किन्ने ग्राहकका लागि पनि समान मूल्य कायम गरिनु पर्छ भनेर भूमिका खेल्ने बताए। 

तुलसीपुर सब्जिमण्डीमा तरकारी किन्न आएकी माया केसीले गोलभेँडाको भाउ अचाक्ली बढेको हुँदा भान्सा महँगो हुन गएको बताइन्। 

‘मैले जेठ अन्तिमसम्म एक सय रुपैयाँमा आठ केजीसम्म गोलभेँडा किनेकी थिएँ,’ उनले भनिन्, ‘आज सब्जिमण्डीमै एक लम्मर गोलभेँडा आठ सयभन्दा कममा कतै पाइन्न।’

दाङको तुलसीपुरदेखि सल्यान प्रवेश गर्ने प्रमुख प्रवेशद्वार कपुरकोट हो। कपुरकोटमै मंगलबार केजीको एक सय ४० देखि एक सय ५५ रुपैयाँसम्म गोलभेँडा त्यहाँका किसानले बेचेका थिए। कपुरकोटमा हाट बजार संचालन हुन लागे यताकै यो हालसम्मकै उच्च मूल्य भएको स्थानीय किसानले बताएका थिए। 

राप्ती राजमार्ग हुँदै कपुरकोट हाट बजारबाट तरकारी तुलसीपुर हुँदै अमेलिया र पूर्वपश्चिम राजमार्ग हुँदै बाँकेस्थित जमुनाहा नाका हुँदै भारतको रुपैडिया तरकारी निर्यात हुने गरेको छ। 

भारतमा यतिखेर भारी वर्षाका कारण गोलभेँडा खेतीमा ठूलो क्षति पुग्नु र कतै लामो खडेरीले उत्पादनमा उल्लेखनीय गिरावट आउनुले गर्दा अभाव टार्न नेपालबाट गोलभेँडा त्यता पठाउनु परेको एक जना व्यापारी बब्लु अन्सारीले बताए।

प्रतिक्रिया दिनुहोस्