नागपञ्चमी : जनविश्वास अनेक

| २०८० भदौ ४ गते १३: २२ मा प्रकाशित

 नागले डसेर मृत्यु भएपछि उनका छोरा जनमेजयले संसारका सम्पूर्ण सर्प मार्न यज्ञ लगाएर यज्ञमा भष्म बनाउन खोजेको अवस्थामा इन्द्रसँगै आएका अस्तिकाले माफी मागेपछि यज्ञमा हवन हुन लागेका सम्पूर्ण सर्पहरू बाँचेकाले श्रावण शुक्लपक्षको पञ्चमीका दिन विशेष पूजापाठ गरिएको भन्ने विश्वास रहेको छ।

यसरी नै वर्षाकालमा विशेषगरी नाग, सर्पले धेरै दु:ख दिने हुनाले तिनीहरूलाई खुशी पार्नको लागि वर्षाको समयमा विशेषत: श्रावण शुक्लपक्षको पञ्चमीका दिन नागहरूको पूजा गर्ने प्रचलन रहेको जनविश्वास पाइन्छ।

कसै–कसैले यसलाई पानीसँग जोडेका छन्। नाग रिसाए भने पानीको अभाव हुने हुँदा सम्पूर्ण जीव, जगत अप्ठ्यारोमा परेको बेला नागले पानी पारेर सबैको रक्षा गरेको कुरा किंवदन्तीमा पाइन्छ। बहुमूल्य मणिलाई शिरमा धारण गरेको नागलाई शिव, विष्णु, गणेश, गोरखनाथ, कृष्ण मत्स्येन्द्र नाथका कथामा समेत प्रसङ्ग जोडिएको कारण नाग र नागपञ्चमीको महत्त्व बढेको बताइन्छ।

काठमाडौं उपत्यकामा भने नाग रिसाए भने चोभारमा पहिरो जाने र पहिले जस्तै उपत्यकामा पानी जम्ने र समस्या आउन सक्छ भनेर नागलाई विधिपूर्वक पूजाआजा गर्ने गरेको किंवदन्ती छ। यस सम्बन्धमा कसै कसैले नागले यो धर्तीको बोझ बोकेकाले काँध फेर्दा पृथ्वी कम्पन हुने वा हल्लने अथवा भूकम्प जाने बताउँछन्।

यिनै विश्वासले गर्दा घरको जग हाल्दा, घर निर्माण गर्दा पहिला नागलाई पूजा गर्ने र नागको शिरलाई विशेष ख्याल गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ। विष्णु भगवान, शिव र देवीदेवतासँग समेत नागको सम्बन्ध रहेको जनविश्वास छ त्यसैले नागलाई शक्ति र देवताको रूपमा लिने र पूजापाठ गर्ने गरेको पाइन्छ।

नागपञ्चमीका सम्बन्धमा एउटा प्रचलित किंवदन्ती छ– एकजना किसानले खनजोत गर्ने क्रममा नागका बच्चा मरेको र आफ्ना बच्चा मरेको कारण पीडा र आक्रोशमा आएर नागिनले किसानका परिवारका आमा–बाबु, दुई छोरा सहित चार परिवारलाई डसेर मारेको र छोरीलाई डस्न जाँदा श्रद्धाले दूधको भाँडो नागको अगाडि राखिदिएपछि दूध पिउन थालेको नागको आक्रोश, पीडा मनबाट हटेपछि त्यो दिन संयोगले नागपञ्चमीको दिन समेत परेको रहेछ।

नागपञ्चमीका दिन आफ्ना परिवार गुमेर पीडित युवतीले नागलाई परिवार गुमाउँदा आफूलाई जस्तो वेदना भएको ठानेर श्रद्धाले आहार दिएका कारण युवतीसँग प्रभावित भएर बरदान माग्न आग्रह गरेको र युवतीले आफ्ना मृतक आमाबुबा र भाइहरू बाँचुन् भन्ने वरदान मागेको, नागपञ्चमीका दिन खुशी नागले युवतीलाई वरदान दिएर अलप भएको र त्यसपछि नागपञ्चमीका दिन नागको पूजापाठ हुने गरेको हो भन्ने जनविश्वास पनि रहेको पाइन्छ।

यसरी नागपञ्चमीका सम्बन्धमा विभिन्न जनविश्वास तथा किंवदन्तीहरू रहेता पनि हिन्दु धर्मावलम्बीले श्रावण शुक्लपक्षको पञ्चमीका दिन पूजाआजा सहित नागपञ्चमी पर्व विशेष महत्त्वका साथ मनाउने चलन छ।

लेखक जनमुखी आदर्श कलेज गैंडाकोट-१५ अमरापुरीका प्राध्यापक हुन्।
स्रोत - अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्